रिहाइ पछि रवि लामिछानेको प्रतिक्रिया: 'अन्यायको हिसाब मिलाउन बाँकी छ'
Prime TV News ३ हप्ता अगाडि 
भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि भएको अन्यायको हिसाब अझै मिलाउन बाँकी रहेको बताएका छन्। शुक्रबार जिल्ला अदालत रुपन्देहीमा धरौटी बुझाएर रिहा भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो धारणा राखेका हुन्। लामिछानेले अहिले धेरै बोल्ने समय नभएको उल्लेख गर्दै अन्यायको हिसाब मिलिसकेपछि आफ्नो कुरा स्पष्ट रूपमा राख्ने संकेत गरे। 'अहिले बोल्ने समय आएको छैन,' उनले भने, 'हिसाब मिलिसकेपछि धेरै कुरा खुल्नेछन्।' उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले बिहीबार जिल्ला अदालत रुपन्देहीको साउन २६ गतेको आदेश बदर गर्दै लामिछानेलाई बिगो बराबरको बैंक जमानतमा सर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो। सोही आदेशअनुसार लामिछानेले जिल्ला अदालतमा धरौटी बुझाएपछि औपचारिक रूपमा रिहा भएका हुन्। अब मुद्दाको अन्तिम टुंगो र लामिछानेले भनेजस्तै “अन्यायको हिसाब” कसरी र कहिले मिल्छ भन्ने विषयमा सबैको ध्यान केन्द्रित भएको छ।













