भृकुटीमण्डपमा नेकपाको शक्ति प्रदर्शन, एकता सन्देश सभा गर्दै

User Image Prime TV News ३ हप्ता अगाडि
Image of भृकुटीमण्डपमा नेकपाको शक्ति प्रदर्शन, एकता सन्देश सभा गर्दै

काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीले आज राजधानी काठमाडौंमा एकता सन्देश सभा आयोजना गर्दै शक्ति प्रदर्शन गर्न लागेको छ। भृकुटीमण्डपमा हुने उक्त सभामा करिब ५० हजार जनाको सहभागिता रहने दाबी पार्टीले गरेको छ।

बागमती प्रदेश, विशेष प्रदेश र सम्पर्क प्रदेशको संयुक्त आयोजनामा हुन लागेको सभा बिहान ११ः३० बजे सुनधारा, नयाँ सडक चोक र शान्ति बाटिकामा जुलुसहरू भेला हुनेछन्।

तीन स्थानबाट निस्कने जुलुस दिउँसो सवा १२ बजे एकीकृत भई बागबजार, पुतलीसडक र पद्मोदय मोड हुँदै भृकुटीमण्डप पुग्ने कार्यक्रम तय गरिएको छ। जुलुसको नेतृत्व दोस्रो तहका नेताहरूले गर्नेछन् भने शीर्ष नेताहरू सिधै सभास्थलको मञ्चमा पुग्ने बताइएको छ।

सभालाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, भीम रावललगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

गत कात्तिक १९ गते तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित १२ वामपन्थी घटक एकताबद्ध भई नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको थियो। पार्टी गठनपछि एकताको सन्देश दिन नेकपाले मंसिर १२ गतेदेखि सातै प्रदेशमा आमसभा र शक्ति प्रदर्शन गर्दै आएको छ।