पुटिनको कडा सन्देशः युक्रेनमा सैन्य लक्ष्य बल प्रयोग गरेरै पूरा गरिन्छ
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा रुसले तोकेका सबै सैन्य उद्देश्य हासिल गरेरै छाड्ने दाबी गरेका छन्। चार घण्टाभन्दा बढी समय चलेको पत्रकार सम्मेलनमा उनले रुसी सेनाले सम्पूर्ण मोर्चामा रणनीतिक रूपमा स्पष्ट अग्रता लिएको बताए।
पुटिनका अनुसार युक्रेनी सेना लगातार दबाबमा छ र विभिन्न क्षेत्रमा पछि हट्न बाध्य भइरहेको छ। उनले किभले शान्ति वार्ताका लागि रुसले अघि सारेका सर्तहरू अस्वीकार गरेमा मस्कोले कुनै सम्झौता नगरी सैन्य शक्तिमार्फत नै लक्ष्य पूरा गर्ने स्पष्ट चेतावनी दिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको शान्ति योजनामाथि टिप्पणी गर्दै पुटिनले युद्धका वास्तविक र गहिरा कारणहरू समाधान नगरेसम्म कुनै पनि योजना अर्थहीन हुने बताए। उनले नेटोका महासचिव मार्क रुट्टेका अभिव्यक्तिलाई बकवास भन्दै अस्वीकार गरे।
पुटिनले ट्रम्प प्रशासनको राष्ट्रिय सुरक्षा रणनीतिले रुसलाई प्रत्यक्ष शत्रुका रूपमा परिभाषित नगरेको दाबी गर्दै युरोपेली नेताहरू अझै पनि अमेरिकी राजनीतिमा नाटकीय परिवर्तनको भ्रममा बाँचिरहेको आरोप लगाए।
युरोपेली संघले युक्रेनलाई ९० अर्ब युरो ऋण दिने निर्णयप्रति पनि पुटिनले कडा प्रतिक्रिया जनाए। उनले युक्रेनलाई सहयोग गर्ने नाममा रुसी सम्पत्तिको प्रयोग गर्नु खुला डकैती हुने बताए। यस्तो कदमले अन्तर्राष्ट्रिय लगानीकर्ताको विश्वास ध्वस्त पार्ने र युरो क्षेत्रको विश्वसनीयतामा गम्भीर चोट पुग्ने चेतावनी उनले दिए।
यसै क्रममा पुटिनले रुसी सेनामा जनशक्तिको कुनै कमी नभएको दाबी गर्दै यो वर्ष मात्रै चार लाखभन्दा बढी व्यक्ति स्वेच्छाले सेनामा भर्ती भएको जानकारी दिए।













