एमालेमा आन्तरिक लोकतन्त्रको बहस तीव्र, पोखरेल पक्षले वैचारिक मुद्दा नछोड्ने अडान
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेका नेता ईश्वर पोखरेल निकट नेताहरूले पार्टी महाधिवेशनमा उठेका वैचारिक मुद्दाहरूलाई निरन्तर अघि बढाउने निर्णय गरेका छन्।
शनिबार काठमाडौँमा बसेको भेलाले पार्टी विधि र विधानको सीमाभित्र रहेर संगठन सुधार र आन्तरिक लोकतन्त्रको बहसलाई जीवित राख्ने निष्कर्ष निकालेको हो।
एमाले उपमहासचिव योगेश भट्टराईका अनुसार भेलाले पार्टी पुनर्गठन, नेतृत्व हस्तान्तरण, जनताको बहुदलीय जनवाद (जबज) को आधारमा पार्टी निर्माण र संगठनभित्र लोकतान्त्रिक अभ्यास सुदृढ गर्ने विषयलाई केन्द्रमा राखेको छ। यी मुद्दालाई पार्टीका सबै तहमा छलफलका लागि लैजाने तयारी गरिएको उनले जानकारी दिए।
भेलाले महाधिवेशनको मत परिणामलाई स्वीकार गर्दै त्यसबाट विचलित नहुन नेता–कार्यकर्तालाई आग्रह गरेको छ। साथै पार्टी एकतालाई कमजोर नबनाई सुधारका लागि रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
तर, महाधिवेशनका क्रममा प्रतिनिधि छनोटदेखि बन्दसत्र सञ्चालनसम्म भएका गतिविधिले पार्टीको लोकतान्त्रिक अभ्यासमाथि गम्भीर प्रश्न उठाएको निष्कर्ष भेलाले निकालेको छ। पार्टी संरचनाको दुरुपयोग भएको दाबी गर्दै यस पक्षले यसप्रति गहिरो चिन्ता व्यक्त गरेको छ।
लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने प्रवृत्तिप्रति कडा आपत्ति जनाउँदै आगामी दिनमा यस्ता गतिविधिविरुद्ध सजग रहने भट्टराईले बताए।













