निर्वाचन सार्ने प्रयास भयो भने सडकमा उत्रिने प्रचण्डको चेतावनी
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले कुनै पनि बहानामा निर्वाचनको मिति सार्ने प्रयास गरे गम्भीर आन्दोलनको सामना गर्नुपर्ने चेतावनी दिएका छन्।
शनिबार आयोजित एकता सन्देश सभामा सम्बोधन गर्दै उनले निर्वाचन धकेल्नु संविधानमाथिको सिधा आक्रमण हुने स्पष्ट पारे । प्रचण्डले सरकारलाई शान्तिपूर्ण र सहज रूपमा निर्वाचन सम्पन्न गर्न आग्रह गर्दै तर्क, बहाना वा हल्लाका भरमा मिति सार्ने दुस्साहस नगर्न कडा शब्दमा चेतावनी दिए।
उनले सरकारले यसअघि पनि संविधान मिच्ने प्रयास गरिसकेको छ र देशको जटिल अवस्थालाई हेरेर मात्र अन्तरिम सरकार गठनमा सहजीकरण गरिएको बताए । तर यही सरकारले फेरि निर्वाचन सार्ने निर्णय गर्यो भने संविधान फेरि मिचिने र त्यसविरुद्ध कम्युनिष्ट पार्टी चुप नबस्ने उनले स्पष्ट पारे।
उनले त्याग, संघर्ष र निष्ठाको इतिहास नभएका अहंकारी र दम्भी शक्तिहरूले प्रतिशोधको भाषा बोल्दै आन्दोलनकारी शक्तिलाई कमजोर ठानिरहेको आरोप लगाए। यस्तो सोच आफैंमा खतरनाक भएको भन्दै उनले खबरदारी गरे।
प्रचण्डले आफ्नो पार्टी शान्तिपूर्ण निर्वाचन चाहन्छ तर जनताको धैर्यलाई कमजोरी ठान्नु घातक हुने बताए। जनयुद्ध र जनआन्दोलनको शक्तिलाई एकीकृत गरेर देशलाई संकटबाट बचाउने उद्देश्यले पार्टी अघि बढेको उनको भनाइ थियो।
धनगढी, लम्ही, पोखरा, विराटनगर, जनकपुर, मधेस, सुर्खेत हुँदै काठमाडौँसम्म देखिएको विशाल जनउपस्थितिलाई खेलाँची नठान्न उनले चेतावनी दिए। संविधानसँग फेरि खेलबाड गरिए वा यो शक्ति जिस्क्याइए जनताको आन्दोलन फेरि सडकमा विस्फोट हुने उनले बताए।
६ महिना वा एक वर्ष समय थप्ने हल्ला मात्रै चले पनि देश ठूलो दुर्घटनातर्फ जाने प्रचण्डको भनाइ थियो। अब कुनै पनि दुर्घटनाको घडीमा नेपाली कम्युनिष्ट पार्टी रमिते नबन्ने भन्दै उनले ७७ वटै जिल्ला र सबै पालिकाबाट समाजवादी आन्दोलन र विद्रोहको झण्डा बोकेर सडकमा उत्रिने घोषणा गरे।
उनले यही जनशक्तिले दुई सय ५० वर्ष पुरानो राजतन्त्र ढालेर गणतन्त्र स्थापना गरेको स्मरण गराउँदै जनताको शक्तिलाई कमजोर ठान्नु इतिहास नबुझ्नु बराबर हुने चेतावनी दिए।












