रास्वपाका सभापति लामिछानेको घोषणा: सहिदको रगतको अपमान हुन दिँदैनौँ

User Image Prime TV News ३ हप्ता अगाडि
Image of रास्वपाका सभापति लामिछानेको घोषणा: सहिदको रगतको अपमान हुन दिँदैनौँ

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहिदको बलिदान खेर जान नदिने कडा प्रतिबद्धता दोहोर्‍याएका छन्।

भरतपुरको चौबिसकोठीमा आयोजित कार्यक्रममा उनले देशलाई न्याय र सुशासनतर्फ लैजाने अभियानबाट कुनै पनि हालतमा पछि नहट्ने स्पष्ट पारे।

प्रधानमन्त्री सुशीला कार्कीलाई लक्षित गर्दै लामिछानेले डर र हिचकिचाहट त्याग्न आग्रह गरे। उनले सुशासन कार्यान्वयन, निष्पक्ष निर्वाचन र देशलाई सही दिशामा लैजाने जिम्मेवारीबाट भाग्न नहुने बताए। परिवर्तनको यो अवसर गुमाउनु ऐतिहासिक गल्ती हुने भन्दै उनले रास्वपा यो यात्रामा दृढताका साथ उभिने दाबी गरे।

सहिदका आमाहरूलाई सम्बोधन गर्दै लामिछानेले छोराछोरीको बलिदानले देशमा ठूलो परिवर्तनको बाटो खोलेको बताए। आँसु पुछ्न र मन दरो बनाउन आग्रह गर्दै उनले सहिदले देखेका सपना पूरा गर्ने जिम्मेवारी आफूहरूले लिएको स्पष्ट पारे।

लामिछानेले चितवनका सहिद परिवारलाई भेट्ने घोषणा गर्दै व्यक्तिगत र पार्टीस्तरबाट निरन्तर साथ रहने बताए। कुनै पनि परिस्थितिमा सहिद परिवारलाई एक्लो नछोड्ने उनको प्रतिबद्धता थियो।

जेनजी आन्दोलनप्रति संकेत गर्दै उनले जनताको विद्रोह सामान्य नभएको बताए। शहीदको रगत अझै नसुकेको र पीडित परिवारको आँसु ओभानो नभएकाले आन्दोलनलाई जिस्क्याउने वा कमजोर पार्ने प्रयास सह्य नहुने उनले चेतावनी दिए।

घाइतेहरूलाई सम्बोधन गर्दै लामिछानेले देशभरि उनीहरूको पीडा महसुस गरिएको बताए। उनले छरिएका अभियन्ता, जेनजी र नयाँ साथीहरूलाई एकताबद्ध गर्न रास्वपाले नेतृत्व लिने घोषणा गरे।

सुरक्षाकर्मीप्रति सम्मान व्यक्त गर्दै उनले आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गरे। सुरक्षाकर्मी पनि पीडित बनेको भन्दै उनले उच्च मनोबलका साथ कर्तव्य निर्वाह गर्न आग्रह गरे।