कुलमान घिसिङको घोषणा: सत्ता होइन, देश परिवर्तन हाम्रो लक्ष्य
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङले आफूहरू सत्ता र कुर्सीको राजनीति गर्न नभई देश परिवर्तनको स्पष्ट लक्ष्य लिएर अघि बढेको बताएका छन्।
शनिबार चितवनमा आयोजित जिल्लास्तरीय भेलामा बोल्दै उनले वर्तमान राजनीतिक अभ्यासले देशलाई अघि बढाउन नसकेको आरोप लगाए।
घिसिङले राजनीति र नेतृत्व एउटै नभएको उल्लेख गर्दै नेपालमा देखिएको स्वार्थकेन्द्रित र निष्क्रिय राजनीतिमा सहभागी हुन आफू राजनीतिक दल खोलेर नआएको बताए। उनले अहिलेको राजनीति जनताको सेवा भन्दा व्यक्तिगत फाइदामा केन्द्रित छ, जसले सुशासन र समृद्धिलाई रोकेको छ।
“हामी शासक बन्न होइन, सेवक बन्न आएका हौँ,” घिसिङले भने, “देश परिवर्तन, सुशासन र समृद्धि बिना नेपालले कहिल्यै प्रगति गर्न सक्दैन।”
देशमा इमानदार नेतृत्वको अभावका कारण विकास अवरुद्ध भएको उनको ठोकुवा थियो। उनले उज्यालो पार्टी नेपाल आम नेपालीको सेवामा समर्पित भएर देशलाई नयाँ दिशामा लैजाने दाबी गरे।
घिसिङले पुरानो राजनीतिक सोच, अहंकार र असफल अभ्यासको विकल्प आवश्यक भइसकेको बताउँदै जनताले चाहेको परिवर्तन अब नेतृत्व परिवर्तनबाट मात्र सम्भव हुने उल्लेख गरे।












