मधेस प्रदेशमा आज सभामुख चयन
Prime TV News ३ हप्ता अगाडि 
जनकपुर । मधेस प्रदेश सभामा लामो समयदेखि रिक्त रहेको सभामुख पदका लागि आज निर्वाचन हुँदैछ। आजको निर्वाचनलाई प्रदेशको संसदीय अभ्यास मात्र होइन, सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षबीचको शक्ति परीक्षणका रूपमा हेरिएको छ।
सभामुख पदका लागि दुई जनाको उम्मेदवारी परेको छ। सात दलीय गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादव उम्मेदवार बनेका छन् भने प्रमुख प्रतिपक्ष नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्य त्रिलोकी प्रसाद मैदानमा उत्रिएका छन्।
रामअशिष यादवको उम्मेदवारीमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंह प्रस्तावक र नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य फकिरा महतो समर्थक रहेका छन्।
यता, नेकपा एमालेका उम्मेदवार त्रिलोकी प्रसादको उम्मेदवारीमा प्रदेशसभा सदस्य शारदा देवी थापा प्रस्तावक र जयचन्द्रप्रसाद पटेल समर्थक रहेका छन्।
आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा “सभामुख निर्वाचित गरियोस्” भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका छ। सो प्रस्तावमाथि छलफल र मतदानपछि सभामुख चयन हुने छ।













