इमरान खान र बुसरा बिबी दोषी ठहर, १७ वर्ष जेल सजायले पाकिस्तानको राजनीति थप तनावग्रस्त

User Image Prime TV News ३ हप्ता अगाडि
Image of इमरान खान र बुसरा बिबी दोषी ठहर, १७ वर्ष जेल सजायले पाकिस्तानको राजनीति थप तनावग्रस्त

काठमाडौ । पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) को विशेष अदालतले पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) का संस्थापक इमरान खान र उनकी पत्नी बुसरा बिबीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै १७–१७ वर्षको जेल सजाय सुनाएको छ।

अदालतले दुवैलाई एक करोड ६४ लाख रुपैयाँ जरिवाना पनि तोकेको छ। जरिवाना नतिरेमा थप जेल सजाय भोग्नुपर्ने आदेशमा उल्लेख छ। अदालतको आदेशको प्रतिलिपि उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यम डन ले समाचार प्रकाशित गरेको हो।

हाल रावलपिन्डीस्थित अडियाला जेलमा रहेका इमरान खानलाई पाकिस्तान दण्ड संहिताको धारा ३४ र ४०९ अन्तर्गत १० वर्षको सश्रम कारावास तथा भ्रष्टाचार रोकथाम ऐनको धारा ५(२) अन्तर्गत ७ वर्षको सश्रम कारावासको सजाय सुनाइएको छ।

इमरान खानकी पत्नी बुसरा बिबीलाई पनि सोही कानुनी प्रावधानअनुसार कुल १७ वर्षको जेल सजाय तोकिएको छ। अदालतले दुवैलाई सरकारी पदको दुरुपयोग र आपराधिक विश्वासघातमा संलग्न ठहर गरेको हो।

यद्यपि, इमरान खान र बुसरा बिबीले सबै अभियोग अस्वीकार गर्दै आएका छन्। उनीहरूले यो मुद्दालाई आफूहरूलाई राजनीतिबाट निष्क्रिय पार्ने उद्देश्यले चलाइएको राजनीतिक प्रतिशोध भएको दाबी गरेका छन्। 

अदालतको यो फैसलापछि पाकिस्तानको राजनीतिक वातावरण अझै ध्रुवीकृत हुने देखिएको छ। पीटीआई समर्थकहरू र मानवअधिकार पक्षधरहरूले फैसलालाई लिएर प्रतिक्रिया जनाउने सम्भावना रहेको विश्लेषकहरूले बताएका छन् ।