तेल ट्यांकर कब्जापछि अमेरिका–भेनेजुएला सम्बन्ध झन् बिग्रियो
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । अमेरिकी तट रक्षक बलले भेनेजुएलाको तट नजिक तेल बोकेको अर्को एक ट्यांकर नियन्त्रणमा लिएपछि अमेरिका र भेनेजुएलाबीचको सम्बन्ध थप तनावपूर्ण बनेको छ।
पछिल्लो घटनाले भेनेजुएलाको तेल निर्यात मात्र होइन, अन्तर्राष्ट्रिय ऊर्जा बजारमा पनि अनिश्चितता बढाएको छ। युएस डिपार्टमेन्ट अफ होमल्याण्ड सिक्योरिटीले ट्यांकर कब्जामा लिएको पुष्टि गर्दै उक्त जहाज भेनेजुएलाबाट छुटेको जनाएको छ।
विभागकी सेक्रेटरी क्रिस्टी नोएमले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको भिडियोमा अमेरिकी हेलिकप्टर जहाजको डेकमा अवतरण गर्दै नियन्त्रण लिँदै गरेको दृश्य देखिन्छ। जहाजको बाहिरी भागमा ‘सेन्चुरीज’ लेखिएको देखिएको छ।
नोएमका अनुसार यो कारबाही २० डिसेम्बरको बिहान अमेरिकी कोस्टगार्डले डिपार्टमेन्ट अफ डिफेन्सको सहयोगमा गरेको हो। उनले भेनेजुएलाबाट हुने तेलको अवैध ओसारपसार “नार्को टेररिज्म” कोषका लागि प्रयोग हुने आरोप दोहोर्याउँदै यस्ता अपरेसन निरन्तर चलिरहने चेतावनी दिएकी छन्।
यसअघि पनि अमेरिकाले तेल बोकेका केही भेनेजुएली जहाजमा लागूऔषध संलग्नता रहेको दाबी गर्दै नियन्त्रणमा लिएको थियो। त्यस्तै, भेनेजुएलाबाट आवतजावत गर्ने तेल ट्यांकरमाथि कडा प्रतिबन्ध र निगरानी लागू गरिएको छ।
अमेरिकाले भेनेजुएलाले तेलबाट कमाएको आम्दानी लागूऔषध कारोबार र आतंकवादी गतिविधिमा प्रयोग गर्दै आएको आरोप लगाउँदै आएको छ। तर भेनेजुएला सरकारले यी आरोपलाई राजनीतिक दबाब र आर्थिक नाकाबन्दीको बहाना भन्दै अस्वीकार गरेको छ।
विशेषगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको तेल कारोबारमा थप नाकाबन्दी लगाउने संकेत दिएपछि यस्ता कारबाहीहरू तीव्र बनेका छन् ।













