एभर्टनविरुद्धको कठिन जितसँगै आर्सनल शीर्ष स्थानमा, उपाधि दौड झन् रोमाञ्चक

User Image Prime TV News ३ हप्ता अगाडि
Image of एभर्टनविरुद्धको कठिन जितसँगै आर्सनल शीर्ष स्थानमा, उपाधि दौड झन् रोमाञ्चक

काठमाडौ । एभर्टनमाथि १–० को कडा जित निकाल्दै आर्सनल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा पुनः फर्किएको छ। शनिबार राति हिल डिकिन्सनमा सम्पन्न खेलमा भिक्टर ग्योकोरेसले पेनाल्टीमार्फत गरेको गोल नै आर्सनलको जितको निर्णायक बन्यो।

खेलको २७औँ मिनेटमा डेक्लान राइसले प्रहार गरेको कर्नरका क्रममा एभर्टनका डिफेन्डर जेक ओ’ब्रायनको हातमा बल लागेपछि आर्सनलले पेनाल्टी पाएको थियो। उक्त अवसरलाई ग्योकोरेसले सहजै सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाए।

त्यसपछि दुवै टोलीले केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न नसक्दा आर्सनलले न्यूनतम अन्तरको जित सुरक्षित गर्न सफल भयो। रक्षात्मक रूपमा अनुशासित देखिएको आर्सनलले दबाबपूर्ण अवस्थामा पनि तीन अंक जोड्न सफल रह्यो।

यसअघि शनिबार राति नै म्यानचेस्टर सिटीले वेस्ट ह्याम युनाइटेडलाई ३–० ले हराउँदै शीर्ष स्थानमा उक्लिएको थियो। सिटीको जितमा एर्लिङ हालान्डले दुई गोल गरे भने टिज्जानी रेइन्डर्सले एक गोल थपे। तर आर्सनलको जितसँगै सिटी फेरि दोस्रो स्थानमा झरेको छ।

हाल १७ खेलबाट ३९ अंकसहित आर्सनल तालिकाको शीर्ष स्थानमा छ। उसले १२ जित, ३ बराबरी र २ हारको नतिजा निकालेको छ। समान खेलबाट ३७ अंक जोडेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा रहेको छ।

अन्य खेलहरूमा, चेल्सीले न्युक्यासल युनाइटेडसँग २–२ को बराबरी खेल्दै अंक बाँड्दा खेलको सुरुवाती चरणमै दुई गोलले पछि परेको अवस्थामा दोस्रो हाफमा प्रभावशाली पुनरागमन गर्‍यो। लिभरपुलले टोटनह्याम हटस्परलाई २–१ ले पराजित गर्‍यो भने ब्रेन्टफोर्डले वुल्भ्समाथि २–० को जित निकाल्यो।

त्यस्तै, बर्नली र एएफसी बोर्नमाउथबीचको खेल १–१ को बराबरीमा सकिँदा ब्राइटन र सन्डरल्यान्डले गोलरहित बराबरी खेले।