लोकतन्त्र र क्षेत्रीय सहकार्यबारे धारणा राख्न डा भट्टराई भारत भ्रमणमा

User Image Prime TV News ३ हप्ता अगाडि
Image of लोकतन्त्र र क्षेत्रीय सहकार्यबारे धारणा राख्न डा भट्टराई भारत भ्रमणमा

काठमाडौ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई आजदेखि भारत भ्रमणमा निस्किएका छन्। उनका अनुसार भ्रमण पुस ९ गतेसम्म रहनेछ र त्यसपछि उनी स्वदेश फर्किने कार्यक्रम रहेको छ।

भारत बसाइँका क्रममा डा भट्टराईले त्यहाँका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूसँग समसामयिक विषयमा संवाद र छलफल गर्नेछन्। नेपाल–भारत सम्बन्ध, दक्षिण एसियाली क्षेत्रीय सहकार्य तथा लोकतान्त्रिक अभ्यासका वर्तमान चुनौती र सम्भावनाबारे उनले आफ्ना विचार प्रस्तुत गर्ने बताइएको छ।

भ्रमणको क्रममा डा भट्टराई भारतको प्रतिष्ठित शैक्षिक संस्था आईआईटी बम्बईमा आयोजना हुने टेकफेस्टमा सहभागी हुँदै ‘दक्षिण एसियाको लोकतान्त्रिक भविष्य: युवा, प्रविधि र समावेशी लोकतन्त्र’ विषयमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

त्यसैगरी, नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टरमा साउथ एसियन फोरम फर पिपुल्स इनिसिएटिभद्वारा आयोजित कार्यक्रममा उनी प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्। उक्त कार्यक्रममा दक्षिण एसियाली लोकतन्त्र, नागरिक सहभागिता र क्षेत्रीय शान्तिका विषयमा गहन बहस हुने अपेक्षा गरिएको छ।