साढे ८ महिनापछि रास्वपा केन्द्रीय कार्यालयमा रवि लामिछाने प्रवेश गर्दै

User Image Prime TV News ३ हप्ता अगाडि
Image of साढे ८ महिनापछि रास्वपा केन्द्रीय कार्यालयमा रवि लामिछाने प्रवेश गर्दै

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने साढे ८ महिनापछि आज पार्टीको केन्द्रीय कार्यालय प्रवेश गर्ने भएका छन्। काठमाडौँको वनस्थलीस्थित घण्टीघरमा रहेको रास्वपाको केन्द्रीय कार्यालयमा आज दिउँसो ३ बजे उनलाई स्वागत गर्ने कार्यक्रम तय गरिएको छ।

पार्टी प्रवक्ता मीनष झाका अनुसार सभापति लामिछाने शुक्रबार धरौटीमा रिहा भएपछि आज औपचारिक रूपमा पार्टी कार्यालय फर्कन लागेका हुन्। “सभापति ज्यू अन्तिमपटक गत चैत १८ गते पार्टी कार्यालय आउनुभएको थियो,” प्रवक्ता झाले जानकारी दिए।

सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशअनुसार रुपन्देही जिल्ला अदालतमा पौने चार करोड रुपैयाँ धरौटी बुझाएर लामिछाने शुक्रबार नक्खु कारागारबाट रिहा भएका थिए।

यसअघि जिल्ला अदालतले एक करोड धरौटीमा रिहा गर्न आदेश दिए पनि त्यसलाई उच्च अदालतले बदर गर्दै थुनामा पठाउने आदेश दिएको थियो। पछि फेरि उच्च अदालतकै आदेशबाट उनी धरौटीमा थुनामुक्त भएका हुन्। उच्च अदालतको आदेशपछि चैत २२ गते साँझ लामिछानेलाई निवासबाटै पक्राउ गरिएको थियो। त्यसयता उनी न्यायिक प्रक्रियाका कारण पार्टी गतिविधिबाट प्रत्यक्ष रूपमा टाढा थिए।

धरौटी बुझाएर रिहा भएपछि लामिछानेले शनिबार चितवनमा पार्टी कार्यकर्तालाई सम्बोधन गरेका थिए। त्यसपछि काठमाडौँ फर्कँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रास्वपाका नेता तथा कार्यकर्ताले बाजागाजासहित स्वागत गरेका थिए ।