सरकारले १२१ वटा नयाँ विधेयक निर्माणमा सक्रियता देखायो

User Image Prime TV News ३ हप्ता अगाडि
Image of सरकारले १२१ वटा नयाँ विधेयक निर्माणमा सक्रियता देखायो

काठमाडौ । अन्तरिम सरकारले चालु आर्थिक वर्षमा १२१ वटा नयाँ विधेयकको मस्यौदा तयार गर्ने काम अघि बढाएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले राष्ट्रिय सभामा भएको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठकमा यसबारे जानकारी दिएका हुन्।

मन्त्री सिन्हाका अनुसार, सरकारले पहिले नै तय गरेको प्राथमिकताअनुसार विधेयक निर्माणमा अग्रसर छ र संसदलाई यसबारे जानकारी दिइसकिएको छ। सचिव पराश्वर ढुङ्गानाले पनि सम्बन्धित मन्त्रालयलाई विधेयकको मस्यौदा तयार गर्न परिपत्र गरिएको जानकारी दिएका छन्।

यसअघि जारी भएको विधायन ऐन २०८१ अनुसार, नयाँ प्रत्यायोजित विधेयक एक वर्षभित्र राजपत्रमा प्रकाशित गर्नुपर्ने व्यवस्था छ। मन्त्रालयका अनुसार, यस ऐनअनुसार नै सरकारले विधेयक निर्माण प्रक्रिया अघि बढाइरहेको छ।

सरकारले नीति तथा कार्यक्रम, बजेट, क्षेत्रगत योजना र अन्तर्राष्ट्रिय सन्धि सम्झौताबाट सिर्जित दायित्वका आधारमा विधेयक निर्माण गर्ने लक्ष्य लिएको छ। सम्बन्धित मन्त्रालयहरूले विधेयक पहिचान गरी प्राथमिकता तय गर्ने र त्यसको प्रगति सात दिनभित्र कानून मन्त्रालयमा दर्ता गराउने प्रक्रिया समेत अघि बढाइरहेको सचिव ढुङ्गानाले बताएका छन् ।