कांग्रेसका ६५ सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर

User Image Prime TV News ३ हप्ता अगाडि
Image of कांग्रेसका ६५ सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर

काठमाडौ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका ६५ सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। कांग्रेसकी पूर्व सचेतक सुशीला थिङका अनुसार शीर्ष तहका नेताहरूले हस्ताक्षर गरेका छैनन्।

थिङले भनिन्, “हामी विघटित प्रतिनिधिसभामा पार्टीका ६५ जनाले हस्ताक्षर गरेका छौँ। शीर्ष नेताहरूले हस्ताक्षर गर्नुभएको छैन र हामीले उनीहरूलाई हस्ताक्षर गर्न पनि भनेका छैनौँ।”

सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, इतर समूहका नेता डा. शेखर कोइरालालगायतका नेताले पुनर्स्थापनाका पक्षमा हस्ताक्षर गरेका छैनन्।

यसअघि कांग्रेसका ८ निवर्तमान सांसदले मंसिर २३ गते प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिसकेका छन्। निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेसहित सचेतक थिङ, सांसद दीपक खड्का, जाबेदा खातुन जागा, आशा बिक, सिता राना, शान्ति बिक र नागिना यादवले रिट दर्ता गरेका थिए।

थिङले भनिन्, “हामीले पहिल्यै ८ निवर्तमान सांसदले रिट दर्ता गरिसकेका छौँ। अब कांग्रेस र एमालेका बहुमत सांसदको संख्या पुर्‍याएर सोमबार सर्वोच्चमा पूरक रिट दिने तयारीमा छौँ।”

उनले पार्टीको निर्णय विपरीत कदम चाल्नुपर्ने कारण स्पष्ट गर्दै भनिन्, “पार्टीको कार्यसम्पादन समिति बैठकले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको छ। केन्द्रीय कार्यसमितिको सर्वसम्मत निर्णयमा पनि प्रतिनिधिसभा विघटनको संवैधानिक परीक्षण गरिनुपर्छ भन्ने उल्लेख छ। त्यसै निर्णयलाई आधार बनाएर हामी केही सांसद सर्वोच्च पुगेका छौँ।”