रास्वपा सरकारसँग उभिन तयार, जेनजीका माग पूरा हुनुपर्छ : रवि लामिछाने
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनका सन्दर्भमा सरकारलाई साथ दिने आफ्नो पार्टीको स्पष्ट धारणा सार्वजनिक गरेका छन्। आइतबार जेलमुक्त भएपछि रास्वपाको केन्द्रीय कार्यालय वनस्थली पुगेका लामिछानेले जेनजी आन्दोलनले उठाएका माग सम्बोधन गरिए सरकारसँग सहकार्य गर्न तयार रहेको बताए।
लामिछानेले निर्वाचन अपरिहार्य भइसकेको उल्लेख गर्दै त्यसका लागि आवश्यक राजनीतिक वातावरण बनाउन सबै जिम्मेवार हुनुपर्ने धारणा राखे। “निर्वाचनमा जानुको विकल्प छैन, तर जेनजीका माग पूरा गर्नु पनि त्यत्तिकै अनिवार्य छ,” उनले भने, “सुशासन स्थापना र निष्पक्ष निर्वाचनका लागि रास्वपा सरकारसँग उभिन्छ।”
तर उनले सरकारलाई दिएको समर्थन बिना शर्त नरहेको स्पष्ट पारे। उनका अनुसार जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको बलिदानलाई बेवास्ता गरेर अघि बढ्न नसकिने अवस्था छ। “स्वार्थ बोकेर होइन, उद्देश्य बोकेर हामी उभिएका छौँ,” लामिछानेले भने।
सभापति लामिछानेले निर्वाचन बिथोल्ने प्रयास भइरहेको भन्दै केही शक्तिहरू सक्रिय रहेको आरोप पनि लगाए। उनले भने, “आफ्नै मान्छे खटाएर घटना गराउने, त्यसपछि निर्वाचनको वातावरण बिग्रियो भनेर प्रचार गर्ने चलखेल भइरहेको छ।”
एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै लामिछानेले चुनावको वातावरण बिगार्नुभन्दा लोकतान्त्रिक प्रतिस्पर्धामार्फत जनमत लिन सुझाव दिए।












