स्रोतको समयमै बाँडफाँट नहुँदा सङ्घीयता कमजोर हुने खतरा : अध्यक्ष दाहाल
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले वित्तीय सङ्घीयताको प्रभावकारी कार्यान्वयन बिना सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था दिगो हुन नसक्ने चेतावनी दिएका छन्। उनले सङ्घ, प्रदेश र स्थानीय तहबीच संविधानको मर्मअनुसार स्रोत र साधनको न्यायोचित वितरण हुनुपर्नेमा जोड दिए।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रकाशन गरेको ‘वित्तीय सङ्घीयता दर्पण–२०८२’ लोकार्पण गर्दै अध्यक्ष दाहालले वित्तीय सङ्घीयता सङ्घीय शासन प्रणालीको केन्द्रीय आधार भएको बताए।
उनले सुनिश्चित गरिएका वित्तीय स्रोतहरू समयमै हस्तान्तरण नहुँदा विकास योजना प्रभावित भएको उल्लेख गरे। तेस्रो त्रैमासमा प्राप्त हुनुपर्ने ठूलो रकमको तुलनामा न्यून मात्रामा हस्तान्तरण हुँदा बजेट कार्यान्वयन प्रक्रिया नै अव्यवस्थित बनेको दाहालको भनाइ थियो।
सङ्घीय सरकारको राजस्व सङ्कलनमा देखिएको कमजोरीले अनुदान प्रवाहमा असर परेको हुनसक्ने बताउँदै दाहालले यसले जनतामा सङ्घीयताप्रति नकारात्मक धारणा सिर्जना गर्न सक्ने खतरा औँल्याए।
सङ्घीयता कार्यान्वयन सामूहिक जिम्मेवारी भएको उल्लेख गर्दै उनले कर्मचारी व्यवस्थापन, आन्तरिक स्रोत परिचालन र पदाधिकारीको क्षमता अभिवृद्धिमा ध्यान दिन आवश्यक रहेको बताए। “आर्थिक तथा सामाजिक विकास र सेवा प्रवाह प्रभावकारी भए सङ्घीयता असफल हुन्छ भन्ने प्रचार आफैँ निरर्थक साबित हुन्छ,” अध्यक्ष दाहालले भने।
उनले आयोगद्वारा प्रकाशित पुस्तकले वित्तीय सङ्घीयताका आयाम स्पष्ट गर्न र आगामी नीति निर्माणमा मार्गदर्शन गर्ने विश्वास पनि व्यक्त गरे।












