जेनजी आन्दोलनका सहभागीमाथि मुद्दा नरोकेको आरोप, संयोजक गुरुङद्वारा गृहमन्त्रीको नम्बर सार्वजनिक

User Image Prime TV News ३ हप्ता अगाडि
Image of जेनजी आन्दोलनका सहभागीमाथि मुद्दा नरोकेको आरोप, संयोजक गुरुङद्वारा गृहमन्त्रीको नम्बर सार्वजनिक

काठमाडौ । काउन्सिल अफ जेन जेडका संयोजक सुदन गुरुङले सरकारसँग भएको सम्झौता कार्यान्वयन नगरेको आरोप लगाउँदै जेनजी आन्दोलनका सहभागीमाथि प्रहरीले अझै पनि मुद्दा चलाइरहेको बताएका छन्। सरकार र जेनजी अभियन्ताबीच सहमति भइसकेको भए पनि त्यसको पालना नभएको भन्दै गुरुङले असन्तुष्टि जनाएका हुन्।

उनले भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनका क्रममा पक्राउ परेका र अझै रिहा हुन नसकेकाहरूको विषयमा सरकार गम्भीर नदेखिएको आरोप लगाए। यसै सन्दर्भमा गुरुङले प्रभावित परिवारलाई सिधै गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र सचिव धिरज जोशीसँग सम्पर्क गर्न आग्रह गर्दै उनीहरूको मोबाइल नम्बर सार्वजनिक गरेका छन्।

सरकारले जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता दिइसकेको र उक्त निर्णय नेपाल राजपत्रमा समेत प्रकाशित भइसकेको छ। राजपत्रमा उल्लेख गरिएको सम्झौताअनुसार आन्दोलनमा सहभागी भएकै आधारमा कसैविरुद्ध फौजदारी मुद्दा नचलाउने स्पष्ट व्यवस्था गरिएको छ।

तर, गुरुङले भ्रष्टाचारविरुद्ध कडा कारबाही गर्ने प्रतिबद्धतासहित जेनजी अभियन्तासँग सम्झौता गरेको सरकारले उल्टै आन्दोलनमा सहभागी युवाहरूलाई झुटा मुद्दामा फसाएको आरोप लगाए। उनले यस्तो व्यवहारले सरकारको प्रतिबद्धतामाथि गम्भीर प्रश्न उठेको बताए ।