प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति रवि लामिछानेबीच बालुवाटारमा भेटवार्ता
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच छलफल भएको हो।
भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्था, सरकारको कामकारबाही र पछिल्लो विकसित घटनाक्रमबारे कुराकानी भएको बताइएको छ। यद्यपि भेटवार्तामा भएका छलफलका विस्तृत विषय सार्वजनिक गरिएको छैन।
छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि सहभागी थिए। रास्वपाको तर्फबाट उपसभापति डोल प्रसाद अर्याल र डा. स्वर्णीम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, नेता शिशिर खनाल तथा तोसिमा कार्की उपस्थित थिए।
प्रधानमन्त्री र प्रमुख प्रतिपक्षबाहिरको दलका नेताबीच भएको यो भेटलाई समसामयिक राजनीतिक संवादका रूपमा हेरिएको छ। पछिल्लो समय संसद्, सुशासन र नीति कार्यान्वयनका विषयमा देखिएको राजनीतिक गतिविधिका सन्दर्भमा उक्त भेटलाई अर्थपूर्ण मानिएको छ।












