विश्वकप लक्ष्यसहित नेपाली टोलीको प्रारम्भिक छनोट, २४ खेलाडी क्याम्पमा
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । टी–२० विश्वकप क्रिकेटको तयारीस्वरूप नेपाल क्रिकेट संघले २४ खेलाडीलाई प्रारम्भिक बन्द प्रशिक्षणमा बोलाएको छ। भारत र श्रीलंकामा हुने विश्वकपलाई लक्ष्य गर्दै पुस ७ गतेबाट प्रशिक्षण क्याम्प सुरु हुने क्यानले जनाएको छ।
क्यानले सार्वजनिक गरेको सूचीमा अनुभवी खेलाडीसँगै हालै सम्पन्न नेपाल प्रिमियर लिग सिजन–२ मा प्रभावशाली प्रदर्शन गरेका नयाँ अनुहारहरूलाई समेत समेटिएको छ। एनपीएलमा चम्किएका शेर मल्ल, विनोद भण्डारी, अभिनास बोहरा र शाहव आलमलाई राष्ट्रिय टोलीको सम्भावित संयोजनमा समावेश गरिएको छ।
प्रशिक्षण टोलीमा कप्तान रोहित पौडेलसहित सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, सोमपाल कामी, कुशल मल्ल, आरिफ शेख, गुलशन झा, आसिफ शेख, भीम सार्की, करण केसी, ललित राजवंशी, आदिल अन्सारी, लोकेस बम, ईशान पाण्डे, नन्दन यादव, सन्दीप जोरा, बसिर अहमद, प्रतिश जिसी, रुपेश कुमार सिंह तथा अन्य खेलाडीहरू रहेका छन्।
क्यानका अनुसार प्रारम्भिक क्याम्पमा खेलाडीहरूको फिटनेस, खेल फर्म र टोली सन्तुलनको मूल्याङ्कन गरिनेछ। त्यसपछि विश्वकपका लागि अन्तिम १५ सदस्यीय टोली घोषणा गरिने छ।
टी–२० विश्वकप आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा आयोजना हुँदैछ। यो संस्करण नेपालका लागि तेस्रो टी–२० विश्वकप सहभागिता हुनेछ।













