महाधिवेशन लगतै छुट्टै भेला र गतिविधि चलाउनु अस्वभाविक: प्रदीप ज्ञवाली
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टी महाधिवेशन सम्पन्न भइसकेपछि पनि केही नेताहरूले छुट्टै भेला र गतिविधि चलाएकोप्रति कडा असन्तुष्टि जनाएका छन्। उनले यस्तो प्रवृत्तिले पार्टीभित्र गलत सन्देश जाने चेतावनी दिएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ज्ञवालीले महाधिवेशनपछि देखिएका केही गतिविधिले आफूलाई असहज बनाएको उल्लेख गरेका छन्। उनका अनुसार महाधिवेशन पार्टीको सर्वोच्च निर्णयकारी निकाय भएकाले त्यसले गरेको निर्णयलाई स्वीकार नगर्ने हो भने पार्टी निरन्तर आन्तरिक बहसमै अल्झिने खतरा हुन्छ।
ज्ञवालीले नेतृत्वको वैधता, सान्दर्भिकता र स्वीकार्यतामाथि उठाइएका प्रश्नकै कारण समयअगावै महाधिवेशन आयोजना गरिएको स्मरण गराएका छन्। महाधिवेशनले ती सबै प्रश्नको स्पष्ट र निर्णायक उत्तर दिएको भन्दै अब पनि पुरानै विवाद बोकेर अघि बढ्नुको कुनै औचित्य नरहेको उनको भनाइ छ।
उनले ‘दुई लाइनको संघर्ष’, ‘प्रतिवाद’ र ‘खोक्रो एकता’ जस्ता गतिविधिलाई अर्थहीन भन्दै पार्टीलाई पुनः विभाजनतर्फ धकेल्ने काम नगर्न आग्रह गरेका छन्।
पछिल्लो तीन महिनामा पार्टीलाई संगठनात्मक रूपमा लयमा फर्काउन सकिएको दाबी गर्दै उनले अबको प्राथमिकता लोकतन्त्रको रक्षा, संविधानको संरक्षण, राजनीतिक स्थिरता, सुशासन र समृद्धि हुनुपर्ने बताएका छन्।
यसै क्रममा नेता ज्ञवालीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो अभिव्यक्तिप्रति पनि आपत्ति जनाएका छन्। उनले राजतन्त्र पुनर्स्थापना हुन सक्ने आशय व्यक्त गरिएको भन्दै आश्चर्य व्यक्त गर्दै, गणतन्त्र स्थापनामा भूमिका खेलेका व्यक्तिबाट यस्तो अभिव्यक्ति आउनु गम्भीर विषय भएको टिप्पणी गरेका छन्।












