साउदी अरेबियामा मृत्युदण्डको प्रयोग निरन्तर उच्च दरमा
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । साउदी अरेबियामा यस वर्ष मृत्युदण्डको प्रयोग झन् तीव्र बनेको देखिएको छ।
मृत्युदण्डसम्बन्धी अनुगमन गर्दै आएको बेलायतस्थित मानवअधिकार समूह रिप्रिभ का अनुसार यस वर्ष हालसम्म ३४७ जनालाई मृत्युदण्ड दिइएको छ, जुन गत वर्षको सोही अवधिको ३४५ को तुलनामा बढी हो।
रिप्रिभले जारी गरेको तथ्यांकले साउदी अरेबियामा मृत्युदण्डको प्रयोग निरन्तर उच्च दरमा रहेको देखाएको छ। संस्थाले यो वर्षलाई आफूहरूले अनुगमन सुरु गरेयता सबैभन्दा हिंसात्मक वर्ष को रूपमा चित्रित गरेको छ।
यस वर्ष मृत्युदण्ड पाएकामध्ये ठूलो हिस्सा लागुपदार्थसम्बन्धी अपराधमा दोषी ठहरिएका व्यक्तिहरू रहेको रिप्रिभको भनाइ छ। तथ्यांकअनुसार मृत्युदण्ड दिइएका कुल व्यक्तिमध्ये करिब दुईतिहाइ लागुपदार्थसम्बन्धी मुद्दा का कारण सजाय पाएका हुन्। हालै मृत्युदण्ड दिइएका व्यक्तिमा दुई पाकिस्तानी नागरिक पनि रहेका छन्।
यस सूचीमा एक पत्रकार, विरोध प्रदर्शनका क्रममा नाबालिग रहेका दुई युवा तथा पाँच महिला समेत परेको रिप्रिभले जनाएको छ। संस्थाका अनुसार मृत्युदण्डको सजाय सुनाइएका व्यक्तिहरूमध्ये आधाभन्दा बढी विदेशी नागरिक रहेका छन् । जसले विदेशी श्रमिक र आप्रवासीको कानुनी सुरक्षाबारे गम्भीर चिन्ता उत्पन्न गरेको छ।
संयुक्त राष्ट्र संघले लागुपदार्थसम्बन्धी अपराधमा मृत्युदण्ड दिनु अन्तर्राष्ट्रिय मानवअधिकार मापदण्डविपरीत हुने स्पष्ट धारणा सार्वजनिक गर्दै आएको छ। तर साउदी अरेबियाले भने आफ्नो कानुन र न्याय प्रणालीअनुसार कारबाही गरिएको दाबी गर्दै आएको छ।
मानवअधिकार समूहहरूले मृत्युदण्डको बढ्दो प्रयोग रोक्न साउदी सरकारलाई पुनर्विचार गर्न आग्रह गरिरहेका छन्। यद्यपि पछिल्लो तथ्यांकले तत्काल नीतिगत परिवर्तनको संकेत देखाएको छैन।













