भिल्ला पार्कमा युनाइटेडलाई झट्का, एस्टोन भिल्लाको स्वर्णिम लय निरन्तर
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । एस्टोन भिल्लाले इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई २–१ ले पराजित गर्दै आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएको छ।
आइतबार राति भिल्ला पार्कमा भएको खेलमा मोर्गन रोजर्सको प्रभावशाली प्रदर्शन नै घरेलु टोलीको जितको आधार बन्यो। खेलको पहिलो हाफको अन्तिम क्षणमा मोर्गन रोजर्सले गोल गर्दै भिल्लालाई अग्रता दिलाएका थिए।
तर पहिलो हाफको इन्ज्युरी समयमा म्याथियस कुन्हाले गोल गरेपछि युनाइटेडले खेल बराबरीमा ल्याएको थियो। दोस्रो हाफको ५७औँ मिनेटमा रोजर्सले पुनः गोल गर्दै एस्टोन भिल्लालाई निर्णायक अग्रता दिलाए।
त्यसपछि युनाइटेडले दबाब बढाए पनि भिल्लाको रक्षात्मक अनुशासन तोड्न सकेन र खेल २–१ मा टुंगियो। यस जितसँगै एस्टोन भिल्ला सबै प्रतियोगिता समेट्दा लगातार १० खेलदेखि अपराजित रहेको छ।
क्लबको शीर्ष लिग इतिहासमा सन् १९१४ यताकै यो सबैभन्दा प्रभावशाली प्रदर्शन मानिएको छ। साथै, प्रिमियर लिगमा घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडविरुद्ध भिल्लाको यो दोस्रो जित हो।
अंक तालिकामा भिल्ला १७ खेलबाट ३६ अंकसहित तेस्रो स्थानमा रहेको छ। शीर्ष स्थानमा रहेको आर्सनलसँग भिल्लाको दूरी तीन अंकमा झरेको छ। समान खेलबाट ३९ अंकसहित आर्सनल अग्रस्थानमा रहँदा ३७ अंकसहित म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ।
यता, म्यानचेस्टर युनाइटेड १७ खेलबाट २६ अंकमा सीमित हुँदै सातौँ स्थानमा पुगेको छ। लगातार अस्थिर प्रदर्शनले युनाइटेडको शीर्ष चारको लक्ष्यमा दबाब बढ्दै गएको देखिएको छ।













