निर्वाचन आयोगले आज प्रधानमन्त्री र दलका प्रतिनिधिसँग चुनावी तयारीबारे छलफल गर्दै

User Image Prime TV News ३ हप्ता अगाडि
Image of निर्वाचन आयोगले आज प्रधानमन्त्री र दलका प्रतिनिधिसँग चुनावी तयारीबारे छलफल गर्दै

काठमाडौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीलाई लिएर निर्वाचन आयोगले आज प्रधानमन्त्रीसहित राजनीतिक दलका प्रतिनिधिसँग छलफल गर्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने तय भएको हो।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार छलफलमा हालसम्म सम्पन्न भएका तयारी, आगामी कार्यतालिका र सम्भावित चुनौतीबारे आयोगले जानकारी गराउनेछ। निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्ने विषय बैठकको मुख्य केन्द्रमा रहनेछ।

छलफलमा विभिन्न राजनीतिक दलका नेतासँगै सुरक्षा निकायका प्रतिनिधिहरू पनि सहभागी हुनेछन्। निर्वाचन अवधिमा शान्ति सुरक्षा, मतदान व्यवस्थापन र संवेदनशील क्षेत्रको सुरक्षाबारे समन्वयका विषयमा विशेष चर्चा हुने जनाइएको छ।

निर्वाचन नजिकिँदै जाँदा आयोगले सरोकारवाला निकायसँग संवाद तीव्र बनाएको छ ।