भदौ २३ को घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भदौ २३ गते भएको घटनालाई नेपालको इतिहासकै दुःखद् र अकल्पनीय घटना भएको उल्लेख गर्दै यसको पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै महामन्त्री थापाले उक्त घटना नघटेको भए राम्रो हुने महसुस आफूलाई बारम्बार हुने गरेको बताए। उनले घटनापछि सडकमा देखिएको आक्रोशले राज्यको गम्भीर असफलता देखाएको टिप्पणी गरे।
थापाले भने, “त्यो घटना नभइदिएको भए हुन्थ्यो भन्ने लागिरहन्छ। आक्रोश सडकमा व्यक्त भयो, त्यसको अर्को पाटो पनि छ। हामीले तत्कालै भदौ २३ गतेकै बेलुका गृहमन्त्रीलाई राजीनामा दिन लगायौँ। सरकार आफैंले यसको जिम्मेवारी बोक्नुपर्छ।”
उनले सार्वजनिक पदमा बसेका व्यक्तिको नैतिकता अत्यन्तै महत्वपूर्ण हुने उल्लेख गर्दै राजनीतिक नैतिकता झनै ठूलो विषय भएको बताए। “म यसको जिम्मा लिन्छु भन्नु सानो हुनु होइन। ठूलो पदमा बस्नेले अझ बढी जिम्मेवारी लिनुपर्छ,” उनले भने।
घटनाको छानबिन प्रक्रिया अघि बढ्ने बताए पनि थापाले राजनीतिक जिम्मेवारीबाट सरकार उम्किन नमिल्ने स्पष्ट पारे। “घटना कसरी भयो भन्ने कुरा छानबिनबाट बाहिर आउला, तर त्यसबेला सरकारमा बसेका साथीहरूले नै यसको जिम्मेवारी लिनुपर्छ। म भए लिँथेँ। जो पदमा छ, उसले लिनुपर्छ। त्यतिबेलाका प्रधानमन्त्रीले नै यसको जिम्मेवारी लिनुपर्छ,” उनले जोड दिए।













