महाधिवेशनपछि मात्रै कांग्रेस चुनावमा जान्छ, फागुन २१ को निर्वाचन अपरिहार्यः महामन्त्री थापा

User Image Prime TV News ३ हप्ता अगाडि
Image of महाधिवेशनपछि मात्रै कांग्रेस चुनावमा जान्छ, फागुन २१ को निर्वाचन अपरिहार्यः महामन्त्री थापा

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधानलाई सही मार्गमा ल्याउन आगामी फागुन २१ गते निर्वाचन हुनैपर्ने बताएका छन्। उनले पार्टीको महाधिवेशन नगरी कांग्रेस चुनावमा सहभागी नहुने स्पष्ट पारेका छन्।

सोमबार धुम्बाराहीस्थित ब्यांकेटमा काठमाडौं–४ का कार्यकर्ताहरूसँगको छलफलमा महामन्त्री थापाले पार्टीभित्र चलिरहेको वडा अधिवेशन केही दिन तलमाथि हुन सक्ने भए पनि अधिवेशन प्रक्रिया नरोकिने बताए। उनले नियमित अधिवेशन अघि बढ्ने वा आवश्यक परे विशेष महाधिवेशन हुने तर कांग्रेस अधिवेशनविनै चुनावमा नजाने प्रष्ट पारे।

‘अधिवेशन विना नेपाली कांग्रेस चुनावमा जानु हुँदैन, जान सक्दैन,’ उनले भने, ‘यो विषयमा पार्टी स्पष्ट छ।’ महामन्त्री थापाले पार्टीको आधिकारिक निर्णयअनुसार फागुन २१ गते निर्वाचन अनिवार्य रहेको उल्लेख गरे। उनका अनुसार संविधान हाल ट्रयाक बाहिर गएकाले निर्वाचनमार्फत नयाँ संसद् गठन गरी संविधानअनुसार राज्य सञ्चालनलाई अघि बढाउन आवश्यक छ। ‘निर्वाचनबाट नयाँ संसद् आउँछ र त्यसले विस्तारै संविधानअनुसार काम गर्छ,’ उनले भने।

निर्वाचन कांग्रेसका लागि अनुकूल वा प्रतिकूल जे भए पनि चुनावमा जानुपर्नेमा जोड दिँदै थापाले चुनावी परिणाम पार्टीको आन्तरिक विषय भएको बताए। उनले थप मेहनत र तयारीमार्फत परिणामलाई अनुकूल बनाउने प्रयास गरिने उल्लेख गरे।