जेनजी समूहको आन्दोलनमा प्रशासनको रोक, अनुमति बिना सडकमा उत्रिने चेतावनी

User Image Prime TV News ३ हप्ता अगाडि
Image of जेनजी समूहको आन्दोलनमा प्रशासनको रोक, अनुमति बिना सडकमा उत्रिने चेतावनी

काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ‘जेनजी’ समूहलाई विरोध प्रदर्शन गर्न अनुमति दिन अस्वीकार गरेको छ। आन्दोलनको घोषणा गर्दै अनुमति माग्न पुगेका जेनजी समूहका प्रतिनिधिलाई प्रशासनले कुनै पनि किसिमको स्वीकृति नदिएको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जेनजी समूहका विभिन्न धारबाट आन्दोलनको अनुमति माग्दै पत्र दर्ता भए पनि कसैलाई अनुमति नदिइएको स्पष्ट पारे। उनले प्रशासनले सार्वजनिक शान्ति र सुरक्षालाई मध्यनजर गर्दै कुनै पनि समूहलाई हाल आन्दोलनको अनुमति नदिने निर्णय गरेको बताए।

यसअघि आइतबार जेनजी समूहले आन्दोलनको घोषणा गर्दै अनुमति नलिई सडकमा उत्रिने चेतावनी दिएका थिए। सोही क्रममा सोमबार बिहान उनीहरू अनुमति माग्न जिल्ला प्रशासन कार्यालय पुगेका हुन्। ‘गरी खान देऊ अभियान’का जेनजी अगुवा हरिश भट्टले प्रशासनसँग छलफल जारी रहेको जानकारी दिए। उनले आफ्नो आन्दोलन शान्तिपूर्ण हुने दाबी गर्दै अनुमति नपाए पनि माइतीघरमा भेला हुने बताए। “आज सीमित संख्यामा सहभागी हुन्छौँ, त्यसपछि क्रमशः उपस्थिति बढाउँदै लैजान्छौँ,” भट्टले भने।

जेनजी समूहले सोमबार बिहान ११ बजेदेखि काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ। प्रशासनको रोकका बाबजुद आन्दोलन अघि बढाउने समूहको घोषणापछि माइतीघर क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ।