जेनजी नेतृ रक्षा बमको गुरुङ र ढुंगानामाथि कडा टिप्पणी
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । जेनजी फ्रन्टकी संयोजक रक्षा बमले सुदन गुरुङ र मिराज ढुंगानालाई लक्षित गर्दै सामाजिक सञ्जालमा कडा टिप्पणी गरेकी छन्। बमले उनीहरूमा पितृसत्तावादी सोच रहेको आरोप लगाउँदै ‘चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्न’ चेतावनी दिएकी छन्।
बमले फेसबुकमार्फत लेखेकी छन् कि, “एकजना जेनजी मित्र, जो सेप्टेम्बर ८ को दिन आन्दोलनमा आएका थिएनन्, आज अन्तरिम सरकारलाई ‘कामचोर’ घोषणा गर्दै संसद पुनःस्थापना र सर्वपक्षीय सरकारको माग गरिरहेका छन्। अर्का एकजना जेनजीका दाइले पनि संसद पुनःस्थापना र सर्वपक्षीय सरकारको विकल्पको रूपमा प्रस्ताव राखेका छन्। तर हामीले आफ्नो आन्दोलन र मुद्दा अघि बढाइरहेका छौं। हामीले हातमा चुरा लगाएका छैनौं।”
बमले थपेकी छन्, “जेनजी मित्र र जेनजीका दाइ दुवैले जुन संसद पुनःस्थापना को कुरा गरिरहनु भएको छ, हाम्रो देशको राजनैतिक कोर्स त्यहाँबाट निकै अगाडि बढिसकेको छ। अब नयाँ जनादेश लिएर नयाँ संसदमार्फत मुलुकलाई निकास दिने बाटो खोज्नुपर्छ।”
उनले वर्तमान परिस्थितिमा राजनीतिक प्रक्रियाको आवश्यकता औँल्याउँदै भनिन्, “हामी कसैको स्वार्थ पूर्तिका लागि राजनैतिक गोटी बन्नु हुँदैन। देशमा शान्ति आवश्यक छ। मेरो यी दुबै हातले सम्पूर्ण गलत कुकृतिहरूको विरोध गर्दै छन्। पितृसत्तावादी भूल नगर्नुहोला र स्त्रीद्वेषी टिप्पणी दिन छोड्नुस। परिवर्तनका आन्दोलनमा महिलाहरूले पनि आफ्नो रगत र पसिना खसालिसकेका छन्। २८ भदौ २०८२ मा ढोगेको खुट्टा सम्झनुस, चुरा लगाएकै हात भएकी महिलाको खुट्टामा लम्पसार परेर ढोग्नुभएको थियो।”













