बंगलादेशमा राजनीतिक हिंसा बढ्दो, एनसीपी नेता मोतलेब सिकदरमाथि गोली प्रहार
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । बंगलादेशमा पछिल्ला दिनहरूमा राजनीतिक हिंसा थप चर्किँदै गएको छ। १० दिनअघि शरीफ उस्मान हादीको हत्या भएको घटनाको असर सेलाउन नपाउँदै नेसनलिस्ट सिटिजन पार्टी (एनसीपी) का नेता मोतलेब सिकदरमाथि गोली प्रहार भएको छ।
खुलना शहरको सोनाडांगा क्षेत्रमा आयोजित एक र्यालीका क्रममा अज्ञात आक्रमणकारीले सिकदरमाथि गोली चलाएको प्रहरीले जनाएको छ। आक्रमणमा उनको टाउकोको बायाँ भागमा गोली लागेको र अवस्था गम्भीर भएपछि तत्कालै खुलना मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ। चिकित्सकहरूका अनुसार उनको स्वास्थ्य अवस्था नाजुक रहेको छ।
प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा ‘गलत तत्त्व’ले आक्रमण गरेको बताउँदै दोषीको खोजी भइरहेको जनाएको छ। घटनास्थल वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ भने आक्रमणको उद्देश्यबारे अनुसन्धान भइरहेको छ।
एनसीपी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध भएको आन्दोलनपछि गठन भएको नयाँ राजनीतिक दल हो। यस पार्टीमा हसिनाविरुद्धको आन्दोलनमा सक्रिय रहेका व्यक्तिहरू, विशेषगरी ढाका विश्वविद्यालयका ठूलो संख्याका विद्यार्थीहरू संलग्न छन्। एनसीपीले यसपटक पहिलोपटक राष्ट्रिय चुनावमा सहभागिता जनाउँदैछ।
लगातार भइरहेका हिंसात्मक घटनाले बंगलादेशको राजनीतिक अवस्था झन् तनावग्रस्त बन्दै गएको विश्लेषकहरूले बताएका छन्। सिकदरमाथि भएको आक्रमणले आगामी चुनाव र समग्र राजनीतिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।













