तोकिएकै मितिमा निर्वाचन गराउन प्रधानमन्त्रीले शीर्ष नेतासँग संवाद गर्न कांग्रेसको माग

User Image Prime TV News ३ हप्ता अगाडि
Image of तोकिएकै मितिमा निर्वाचन गराउन प्रधानमन्त्रीले शीर्ष नेतासँग संवाद गर्न कांग्रेसको माग

काठमाडौ । नेपाली कांग्रेसले तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्री सुशीला कार्कीले तत्काल प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग संवाद गर्नुपर्ने माग गरेको छ।

सोमबार सिंहदरबारमा प्रधानमन्त्री कार्कीले बोलाएको निर्वाचनसम्बन्धी सर्वपक्षीय बैठकमा कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले समयमै निर्वाचन गराउन राजनीतिक सहमति अनिवार्य रहेको बताए।

राजनीतिक दल र तिनका नेताहरूसँग दुश्मनीको अवस्था बनाएर निर्वाचन सफल हुन नसक्ने भन्दै उनले प्रधानमन्त्रीले आवश्यक वातावरण बनाउन ढिलाइ नगरी संवाद अघि बढाउनुपर्ने उल्लेख गरे। “निर्वाचन कुनै एक पक्षको बलमा सम्भव हुँदैन। सबै प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेर विश्वासको वातावरण बनाउनु जरुरी छ,” यादवले भने।

उनले निर्वाचनका लागि आवश्यक सुरक्षाको सुनिश्चिततामा पनि सरकारले विशेष ध्यान दिनुपर्ने सुझाव दिए। विगतमा नेपाली कांग्रेसको नेतृत्वमा सम्पन्न भएका निर्वाचनहरू निष्पक्ष र विश्वसनीय भएको दाबी गर्दै यादवले वर्तमान सरकारले पनि सोही मापदण्डलाई आधार मानेर काम गर्नुपर्ने बताए।