निर्वाचन अध्यादेशमा एमालेको आपत्ति
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेले सरकारले ल्याएको निर्वाचनसम्बन्धी अध्यादेशप्रति कडा आपत्ति जनाएको छ। एमालेका सचिव महेश बस्नेतले अध्यादेशका केही प्रावधान स्वीकार्य नभएको भन्दै यसले निर्वाचनको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठाउने बताएका छन्।
प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको विदेशमा बसेका नेपालीको मतदान र अन्तरजिल्ला मतदानसम्बन्धी छलफलमा एमालेको तर्फबाट सहभागी बस्नेतले निर्वाचनजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले ठूला राजनीतिक दलहरूसँग छुट्टाछुट्टै संवाद गर्नुपर्ने सुझाव दिए। सामूहिक छलफलभन्दा एक्लाएक्लै संवाद गर्दा विश्वासको वातावरण बन्ने उनको भनाइ थियो।
बस्नेतले अध्यादेशमा प्रतिनिधिसभा निर्वाचनको मतपत्रमा दलहरूको चुनाव चिन्ह गोला प्रथाबाट राखिने व्यवस्था गरिएको उल्लेख गर्दै त्यसलाई अस्वीकार्य बताए। उनका अनुसार अघिल्लो निर्वाचनमा प्राप्त समानुपातिक मतका आधारमा दलहरूको चुनाव चिन्ह राख्ने व्यवस्था हटाइएको खण्डमा सरकारले निर्वाचन गराउन नचाहेको सन्देश जानेछ।
“अन्तिम घडीमा निर्वाचनका आधारभूत नियम परिवर्तन गर्नु लोकतान्त्रिक अभ्यास विपरीत हुन्छ,” बस्नेतले भने, “यसले चुनावप्रति जनविश्वास कमजोर बनाउँछ।” एमालेले तोकिएकै मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिँदै त्यसका लागि सबै प्रमुख दललाई स्वीकार्य हुने कानुनी र प्रक्रियागत व्यवस्था आवश्यक रहेको जनाएको छ।













