ओलीको ‘गुन’ टिप्पणीप्रति रवि लामिछानेको व्यंग्य, “गुन तिर्न अदालत धाइरहेको छु”
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिप्रति व्यंग्य गर्दै आफू “गुन तिर्न अदालत धाइरहेको” टिप्पणी गरेका छन्।
अध्यक्ष ओलीले हालै दिएको एक अन्तर्वार्तामा रवि लामिछानेलाई आफूले गुन लगाएको तर उनले बिर्सिएको अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिलाई लक्षित गर्दै लामिछानेले सोमबार काठमाडौं जिल्ला अदालतमा तारेख लिएर फर्किएपछि प्रतिक्रिया दिएका हुन्।
अदालत परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले विभिन्न मुद्दाका कारण देशका विभिन्न जिल्लाका अदालतमा नियमित उपस्थित हुनुपर्ने अवस्थालाई ओलीको भनाइसँग जोडेर व्यंग्य गरे। “केपी ओलीले गुन लगाएको भन्नु भएको छ। त्यही गुन तिर्न अदालत धाइरहेको छु,” उनले भने, “सबै जिल्लामा महिनाको सातै दिनजसो हाजिर हुन जानुपर्ने अवस्था छ।”
उनले आफू काठमाडौं जिल्ला अदालतमा उपस्थित भइसकेको र अब एक साताभित्र अन्य जिल्लाका अदालतमा पनि हाजिर हुन जानुपर्ने जानकारी दिए। लामिछानेका अनुसार विभिन्न मुद्दाका कारण कानुनी प्रक्रिया पूरा गर्न देशभर दौडधुप गर्नुपरेको छ।












