भाटभटेनीमा जलेका मानव अवशेष: नेपालमा पहिचान असम्भव, विदेशी प्रविधिको खोजी
Prime TV News ३ हप्ता अगाडि 
शर्मिला नगरकोटी ।
काठमाडौ । ३ महिना अघि जेनजी आन्दोलनका क्रममा चुच्चेपाटी भाटभटेनीमा आगजनीपछि ७ जनाको पूर्णरुपमा जलेको मानव अवशेष फेला परेको थियो । ती अवशेष कसको हो भन्ने हालसम्म पत्ता लाग्न सकेको छैन ।
यस्तै भदौमा आन्दोलनताका मान्छे हराएका र मिल्दोजुल्दो प्रकृतिका ७ वटा निवेदन प्रहरीमा परेको छ । तर ती भेटिएका मानव अवशेष पूर्णरुपमा खरानी भएकाले डिएनए परिक्षण र पहिचान नै नेपालमा भएका प्रविधीबाट असम्भव भएपछि प्रक्रिया नै रोकिएको छ ।
जेनजी आन्दोलनका क्रममा देशभर ४९ जनाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिएका थिए । ती मध्येको ७ जनाको मानव अवशेषको हालसम्म सनाखत नै हुन सकेको छैन । सनाखत हुन नसकेकाहरु काठमाडौं चुच्चेपाटीको भाटभटेनीमा फेला परेका मानव अवशेष हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भदौ २४ गते चुच्चेपाटी भाटभटेनीमा भेटिएका मानव अवशेष र त्यससँग मेल खाने किसिमका ७ वटा बेपत्ता उजुरी परेका छन् । शव नै पहिचान हुन नसकेपछि परिवारको अवस्था झन दयनीय बनेको छ ।
काठमाडौं मैजुबहाल बस्ने २५ वर्षीय समीर श्रेष्ठ गत भदौ २४ गते यता सम्पर्कविहिन छन् । उक्त दिन साथीहरुसँग भाटभटेनी क्षेत्रतिरै जान हिँडेका समीर त्यसयता फर्किएका छैनन् । उनकी आमा आफ्नो छोरा खोज्न प्रहरीले बेवास्ता गरेको गुनासो गर्छिन् । आफ्नो छोरो फर्किने आशमा बसेकी छिन् ।
यस्तै उक्त दिन नै चुच्चेपाटीबाट चाबहिल क्षेत्रबाटै २२ वर्षीय दिपेश खड्का र अजय लामा पनि सम्पर्कविहिन छन् । उनीहरुका परिवारका अनुसार भाटभटेनीमा आफ्ना मानिस जलेको होस अन्य कतै भएपनि खोजबिन गर्न हारगुहार गरिरहेका छन् ।
भेटिएका मानव अवशेषको तन्तुहरु पूर्णरुपमा खरानी अवस्थामा फेला परेकाले सनाखत हुन नेपालमा भएका डिएनए परिक्षणको सुविधाबाट हुन नसकिने जानकारी नेपाल प्रहरीको विधी विज्ञान प्रयोगशाला फरेन्सिक ल्याबले निष्कर्ष निकालेको छ ।
अब उक्त मानव अवशेष कसको हो भन्न यकिन गर्न र डिएनए प्रोफाइलिङ गर्न विदेशमा हुन सक्ने अन्य प्रविधीको सम्भावनाबारे थप छलफल र प्रयासमा प्रहरीले लागि परेको छ । मानव शरीर जलेर खरानी मात्र प्राप्त भएको अवस्थामा तन्तुसमेत पूर्णरुपमा नष्ट भएपछि डिएनए परिक्षण गर्नै नसकिने विशेषज्ञहरुको तर्क छ ।
यस्तो प्रकृतिका घटनामा विशेषज्ञहरुको हालसम्मको अनुभव र अनुसन्धानबाट नेपालमा सनाखत हुन सक्ने सम्भावना नै नरहने त्रिवि शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विशेषज्ञ डा. गोपाल चौधरीको दाबी छ । जेनजी आन्दोलनका क्रममा त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि लगिएका ४९ शव मध्येका ३४ जनाको गोली लागेर मृत्यु भएको, ५ जनाको जलेको अवस्थामा ज्यान गुमाएर सनाखत भइसकेको, ३ जनाको चोटपटकबाट र ७ मानव अवशेषको हालसम्म सनाखत हुन सकेको छैन ।
नेपालमा भएका डिएनए परिक्षणको प्रविधीले पूर्ण रुपमा जलेका मानव शरीरको पहिचान नै गर्न नसकिने अवस्था छ । उक्त किसिमका मानव अवशेषको पहिचानका लागि विदेशमा हुन सक्ने उच्चस्तरीय प्रवीधीबारे अध्ययन तथा अनुसन्धानमा प्रहरीको प्रयास जारी राखेको जनाएको छ।













