हामी आलोचना सहन बसेका हौ, भागबण्डाको झगडाले जनता पिसिनु हुँदैन : प्रधानमन्त्री कार्की

User Image Prime TV News ३ हप्ता अगाडि
Image of हामी आलोचना सहन बसेका हौ, भागबण्डाको झगडाले जनता पिसिनु हुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार कुनै पनि पक्षको आलोचना सहन नसक्ने 'अचानो' नभएको स्पष्ट पारेकी छन्।

सोमबार आयोजित सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै उनले सरकारमाथि चौतर्फी प्रहार भइरहेको स्वीकार गर्दै त्यसको सामना गर्न आफूहरू तयार रहेको बताइन्।

प्रधानमन्त्री कार्कीले जेनजीदेखि राजनीतिक दलसम्मबाट सरकार आलोचित भइरहेको उल्लेख गर्दै विगतका गल्ती र कमजोरीकै आवेगका कारण गत भदौ २३ र २४ गतेका घटना घटेको बताइन्।ती घटनाबाट सिर्जित आक्रोशको भार अहिलेको सरकारले बोकेको उनको भनाइ थियो।

देशका लागि आएका आरोप र दबाबबाट पन्छिन सरकार नखोजेको उल्लेख गर्दै उनले भनिन्, 'मुलुकको हितका लागि आउने आक्षेप सहन हामी तयार छौँ।'

तर, राजनीतिक दलहरूबीचको असहमति र भागबण्डाको झगडाको असर जनतामाथि पारिनु नहुनेमा उनले कडा चेतावनी दिइन्। प्रधानमन्त्री कार्कीले राजनीतिक दल देशको सर्वेसर्वा नभएको स्पष्ट पार्दै जनता नै सर्वोच्च शक्ति भएको बताइन्। “यो देशको मालिक जनता हुन्, राजनीतिक दल होइनन्,” भन्दै उनले दलहरू जनताको सेवा गर्नका लागि मात्रै अस्तित्वमा रहेको उल्लेख गरिन्।

उनले जनताले खोजेको परिवर्तनलाई बेवास्ता गर्दै दलहरू आफ्नै स्वार्थमा अल्झिनु गलत भएको टिप्पणी गरिन्। “आफ्नो भाग नपुग्दा, आपसमा मन नमिल्दा त्यसको सजाय जनतालाई दिनु अपराध हो,” उनको भनाइ थियो।

प्रधानमन्त्री कार्कीले सरकार युवाको बलिदान र पीडामाथि आराम गर्न नआएको स्पष्ट गर्दै सबैलाई लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन आग्रह गरिन्। उनले विशेष रूपमा निर्वाचनमा सक्रिय सहभागिताका लागि सबै पक्षलाई आह्वान गरिन्।