एमालेको ११ औँ महाधिवेशनपछि पहिलो देशव्यापी संगठनात्मक सन्देश, आज सबै प्रदेश-जिल्ला कमिटीको भर्चुअल बैठक

User Image Prime TV News ३ हप्ता अगाडि
Image of एमालेको ११ औँ महाधिवेशनपछि पहिलो देशव्यापी संगठनात्मक सन्देश, आज सबै प्रदेश-जिल्ला कमिटीको भर्चुअल बैठक

काठमाडौ । नेकपा एमालेले ११ औँ महाधिवेशनपछि पार्टीको राजनीतिक दिशा र संगठनात्मक सन्देश देशभर एकरूप रूपमा प्रवाह गर्न आज सबै प्रदेश र ७७ वटै जिल्ला कमिटीको संयुक्त भर्चुअल बैठक आयोजना गरेको छ।

पार्टी महासचिव शङ्कर पोखरेलले दिउँसो २ बजे केन्द्रीय कार्यालयबाट बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। महासचिव पोखरेलले महाधिवेशनले निर्वाचित गरेको नयाँ नेतृत्व, पार्टीको जिम्मेवारी बाँडफाँट, वर्तमान राजनीतिक अवस्था र आगामी रणनीतिबारे स्पष्ट निर्देशन दिने बताइएको छ।

केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार प्रदेश कमिटीका सम्पूर्ण सदस्य तथा जिल्ला कमिटीका पदाधिकारीदेखि सचिवालय सदस्यसम्मलाई बैठकमा सहभागी हुन जुम आइडी पठाइसकिएको छ। उनका अनुसार महाधिवेशनका प्रारम्भिक निर्णय र सन्देश तल्लो तहसम्म प्रभावकारी रूपमा पुर्‍याउने उद्देश्यले बैठक आयोजना गरिएको हो।

बैठकमार्फत एमालेले स्थानीय तहमा भइरहेका गतिविधि, पार्टी समन्वय, अनुशासन र महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशालाई स्वीकार गर्दै अघि बढ्न पार्टीपंक्तिलाई निर्देशन दिने तयारी गरेको छ।