महाधिवेशनपछि असन्तोष फैलाउने प्रयासप्रति ईश्वर पोखरेलको चेतावनी: ‘पार्टीलाई फेरि क्षतिमा नधकेलौँ’
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीभित्र महाधिवेशनपछि अनावश्यक बहस र तरंग सिर्जना गर्ने गतिविधिले संगठनलाई फेरि क्षतिको दिशातर्फ लैजान सक्ने चेतावनी दिएका छन्।
११ औँ राष्ट्रिय महाधिवेशनपछि सार्वजनिक रूपमा देखिएका प्रतिक्रिया, भेटघाट र टिप्पणीप्रति संकेत गर्दै उनले संयमित र जिम्मेवार व्यवहार आवश्यक रहेको बताएका हुन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले महाधिवेशनबाट निर्वाचित नेतृत्वविरुद्ध कुनै पनि असंवैधानिक वा संस्थागत निर्णय विपरीत गतिविधि नहुने स्पष्ट पारे।
विगतमा पार्टीभित्र देखिएका विवाद र त्यसले निम्त्याएको विभाजनको पीडादायी अनुभव स्मरण गर्दै उनले त्यही डरले अहिले पनि राजनीति चलाउनु उपयुक्त नहुने बताए।
पोखरेलले नेतृत्व चयनमा सर्वसम्मति नहुनुको कारणतर्फ औँल्याउँदै नेतृत्व तहबाट पर्याप्त पहल नदेखिएको अनुभूति धेरै प्रतिनिधिले गरेको उल्लेख गरे।
प्रतिस्पर्धाका क्रममा उठाइएका विषयहरू पार्टीभित्रको लोकतान्त्रिक अभ्यासको हिस्सा भएको र ती सबै कुरा महाधिवेशनकै बन्दसत्रमा औपचारिक रूपमा प्रस्तुत भइसकेको उनले बताए।
उनले महाधिवेशनको निर्णय सबैका लागि बाध्यकारी हुने उल्लेख गर्दै नेतृत्वबाट कार्यकर्ताले आत्मसमर्पण होइन, सम्मानजनक र समान व्यवहार खोज्ने स्पष्ट पारे। व्यवहारमा विभेद दोहोरिए त्यसले असन्तोष र प्रतिरोध जन्माउने उनको भनाइ थियो।
पोखरेलले पार्टी रूपान्तरणका लागि खुला बहस, संस्थागत निर्णयको पालना, विभेदको अन्त्य र पार्टी विभाजनविरुद्ध दृढ अडान अहिलेको प्रमुख आवश्यकता भएको बताए। आग्रहमा आधारित कटाक्ष र अनावश्यक आलोचनाले पार्टी र आन्दोलनलाई कमजोर बनाउने मात्र काम गर्ने उनको निष्कर्ष छ।
११ औँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओलीसँग पराजित भएका पोखरेलले महाधिवेशनपछि आफ्नो पक्षसँग सम्बन्धित भेलाबारे बढेका टिप्पणीपछि यो प्रतिक्रिया दिएका हुन्।












