क्रियाशील सदस्यता नवीकरण पुस ९ मा ‘सिस्टम लक’, नयाँ सदस्यता पुस १० मा

User Image Prime TV News ३ हप्ता अगाडि
Image of क्रियाशील सदस्यता नवीकरण पुस ९ मा ‘सिस्टम लक’, नयाँ सदस्यता पुस १० मा

काठमाडौ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको काम पुस ९ गते मध्याह्न १२ बजेसम्म मात्र गर्ने निर्णय गरेको छ। महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले सो समयपछि नवीकरण प्रक्रिया ‘सिस्टम लक’ गर्ने निर्णय गरेको हो।

समितिका अनुसार नवीकरणसम्बन्धी विवरण पुस ९ गते अपराह्न ४ बजे बैठक बसेर छलफल तथा प्रमाणित गरी पार्टी केन्द्रीय कार्यालयमा बुझाइनेछ। नयाँ क्रियाशील सदस्यता वितरणका सन्दर्भमा भने पुस १० गते प्रणाली लक गरिने निर्णय भएको छ।

क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य तथा केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’ले नवीकरण र नयाँ सदस्यता दुवै प्रक्रियाको समयतालिका तय गरिएको जानकारी दिएका छन्। उनका अनुसार नयाँ क्रियाशील सदस्यताको विवरण पनि सिस्टम लकपछि बैठकमार्फत प्रमाणित गरेर पार्टीलाई बुझाइनेछ।

विदेशस्थित जनसम्पर्क समितिका सन्दर्भमा जनसम्पर्क सदस्यता, नवीकरण वा नयाँ क्रियाशील सदस्यता नपाएकाले केन्द्रीय कार्यालयमा सम्पर्क गरी पार्टीको वेबसाइटमार्फत सदस्यता लिन सक्ने व्यवस्था गरिएको छ।

यसपटक कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण प्रक्रिया केही खुकुलो बनाएको छ। मातहतका समितिबाट सदस्यता नपाएमा केन्द्रीय कार्यालयले सिधै क्रियाशील सदस्यता उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ। त्यसअघि विभिन्न चरणका अधिवेशन हुने कार्यतालिका अनुसार वडा अधिवेशन पुस १६ गते देशभर एकैसाथ हुने तय छ।

तर क्रियाशील सदस्यता नवीकरण, नयाँ वितरण र त्यससँग सम्बन्धित उजुरीमाथिको छानबिन अझै पूर्ण नभएकाले मातहत तहका अधिवेशनको कार्यतालिका हेरफेर गर्ने विषयमा छलफल भए पनि हालसम्म कुनै ठोस निष्कर्ष निस्किएको छैन।