सुनको मूल्यमा तीव्र उछाल, मंगलबार तोलामा ५५ सय रुपैयाँ वृद्धि
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली बजारमा सुनको मूल्य लगातार बढ्दै मंगलबार पुनः नयाँ उच्च विन्दुमा पुगेको छ।
मंगलबार सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ५ सय रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको छ।
यसअघि सोमबार सुन प्रतितोला २ लाख ६१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु, डलरको विनिमय दरमा उतारचढाव र विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितताले नेपाली बजारमा पनि सुनको मूल्यमा निरन्तर दबाब परेको व्यवसायीहरूको भनाइ छ।
यसैगरी चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार सोमबार प्रतितोला ४ हजार २३५ रुपैयाँ रहेको चाँदी मंगलबार २० रुपैयाँले बढेर प्रतितोला ४ हजार २५५ रुपैयाँ पुगेको छ। सुनचाँदीको मूल्य लगातार बढ्दै जाँदा गहना खरिदमा सर्वसाधारणको चासो घटेको देखिए पनि सुरक्षित लगानीका रूपमा सुनतर्फ आकर्षण भने बढ्दै गएको व्यवसायीहरू बताउँछन्।













