जेनजी आन्दोलनपछि क्षतिग्रस्त पार्टी कार्यालय अनुगमनमा सरकारी समिति
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग प्रत्यक्ष संवादका लागि सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोली आज मैदानमा खटिँदैछ।
कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सदस्य रहेको समितिले आज विभिन्न दलका केन्द्रीय कार्यालय पुगेर स्थलगत अवलोकन र छलफल गर्ने कार्यक्रम तय गरेको छ।
समितिको कार्यतालिकाअनुसार मंगलबार बिहान ११ बजे नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुगेर अनुगमन तथा संवाद सुरु गरिनेछ। त्यसपछि दिउँसो १ बजे नेकपा एमालेको च्यासलस्थित कार्यालय र अपराह्न ३ बजे नेपाली कम्युनिस्ट पार्टी (तत्कालीन माओवादी केन्द्र) को पेरिसडाँडास्थित कार्यालय पुग्ने कार्यक्रम रहेको छ।
अनुगमनका क्रममा समितिले जेनजी आन्दोलनका बेला आगजनीबाट भएका क्षतिको अवस्था बुझ्नुका साथै राजनीतिक स्थायित्व, शान्ति सुरक्षाको अवस्था र आसन्न निर्वाचनका लागि अनुकूल वातावरण निर्माणका विषयमा दलका नेताहरूसँग छलफल गर्ने जनाएको छ।
गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा कांग्रेस, एमाले र तत्कालीन माओवादी केन्द्रलगायत विभिन्न राजनीतिक दलका कार्यालय, नेताहरूका निवास, सिंहदरबार, संसद भवन, अदालत, प्रहरी कार्यालय, सपिङ मल तथा निजी व्यावसायिक प्रतिष्ठानहरूमा आगजनी र तोडफोड भएको थियो।
सरकारले आन्दोलनपछि उत्पन्न राजनीतिक र सामाजिक तनाव कम गर्दै संवादमार्फत समाधान खोज्ने उद्देश्यले उक्त समिति गठन गरेको बताएको छ।













