एमालेको दोहोरो रणनीति सार्वजनिक, भित्रैबाट समानुपातिक उम्मेदवारको नाम संकलन सुरु
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेले सार्वजनिक रूपमा फागुन २१ गतेका लागि तोकिएको निर्वाचन नहुने दाबी गर्दै आए पनि भित्रभित्रै निर्वाचनको तयारी थालेको संकेत देखिएको छ। एमाले केन्द्रीय सदस्य गोकुल बास्कोटाले सामाजिक सञ्जालमार्फत समानुपातिक उम्मेदवारको नाम संकलन भइरहेको संकेत गरेपछि पार्टीको रणनीतिबारे नयाँ बहस सुरु भएको छ।
मंगलबार बिहान सामाजिक सञ्जालमा लेख्दै बास्कोटाले ‘चुनाव हुँदैन पनि भन्छन्, दलहरू फेरि आफैं खुसुखुसु समानुपातिक सदस्यको नाम पनि बटुल्दै रहेछन्’ भन्दै टिप्पणी गरेका हुन्। उनले स्पष्ट रूपमा कुन दलको कुरा गरेका हुन् भन्ने नखुलाए पनि सन्दर्भले एमालेतर्फ नै संकेत गरेको बुझाइ गरिएको छ।
एमालेले अहिलेसम्म यो सरकारले निर्वाचन गराउन नसक्ने दाबी गर्दै आएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि सरकारको असक्षमता देखाउँदै चुनावको प्रचार भइरहेको दाबी गर्दै आएका छन्। तर निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार यही पुस १३ र १४ गते दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउनुपर्नेछ। सोही प्रयोजनका लागि एमालेले समयमै दल दर्ता गरिसकेको छ।
चुनाव हुनेमा प्रश्न उठाउँदै आए पनि एमालेले यो सरकारले गर्ने निर्वाचनमा भाग नलिने औपचारिक निर्णय भने गरेको छैन। यही अवस्थाबीच भित्रभित्रै उम्मेदवारको नाम संकलन भइरहेको संकेत बाहिर आउनु पार्टीको दोहोरो रणनीतिका रूपमा हेरिएको छ।
यसअघि शनिबार काठमाडौंमा आयोजित सभामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि एमालेले सार्वजनिक रूपमा विरोध गरे पनि आन्तरिक रूपमा निर्वाचनको तयारी गरिरहेको दाबी गरेका थिए।













