उच्चस्तरीय राजनीतिक सम्वाद समितिले गर्यो कांग्रेसको पार्टी कार्यालयको निरिक्षण

User Image Prime TV News ३ हप्ता अगाडि
Image of उच्चस्तरीय राजनीतिक सम्वाद समितिले गर्यो कांग्रेसको पार्टी कार्यालयको निरिक्षण

काठमाडौ । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक सम्वाद समितिले नेपाली कांग्रेसको पार्टी कार्यालयको निरिक्षण गरेको छ ।

बिभिन्न राजनीतिक दल र सरोकारवालासंग वार्ता गर्न गठन गरिएको उच्चस्तरीय राजनीतिक सम्वाद समितिले मंगलबार जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको कांग्रेस पार्टी कार्यालयको निरिक्षण गरेको हो ।

निरिक्षणका क्रममा समितिका सदस्य सञ्चारमन्त्री जगदीश खरेलले आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न राजनीतिक दलहरुको साथ र सहभागीता अपरिहार्य रहेको बताए । सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने कुरामा सरकार गम्भीरताका साथ अघि बढिरहेको भन्दै उनले जेनजी आन्दोलनका क्रममा पार्टी कार्यालय ध्वस्त भएको अवस्थामा पनि दलहरुको साथ रहेको बताए ।

आगामी चूनाव सुनिश्चित गर्नका लागि दल र सरकारबीच दोहोरो सम्वादको प्रयास गरिएको पनि मन्त्री खरेलको भनाई थियो । त्यस्तै समितिका संयोजक कानूनमन्त्री अनिल सिन्हाले आन्दोलनका क्रममा पार्टी भवनमा क्षति पुगेपनि मुलुकलाई निकास दिन दलहरुको भूमिका अपरिहार्य हुने बताए । उनले चूनावलाई सहज रुपमा अघि बढाउनका लागि दलहरुको अपेक्षा पुरा गर्न सरकार तयार रहेको उल्लेख गरे ।

छलफलका क्रममा कांग्रेस उपसभापति धनराज गुरुङले पार्टी चूनावबाट नभाग्ने भन्दै निष्पक्ष र सुरक्षित तवरले निर्वाचन सम्पन्न गर्न उचित वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए । सरकारले चूनावको रटान लगाएपनि तयारीमा केहि कमजोरी भएको महशुस भएको भन्दै गुरुङले सरकारसंग सहमति गरेका युवाहरुले नै चूनाव हुन दिन्नौ भनेर हिडेको समेत विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिए ।

सुरक्षा निकायको मनोवन उच्च बनाउदै फागुन २१ लाई अर्जुनदृष्टि बनाएर अघि बढ्न आग्रह गरे ।  दलहरु र सरोकारसंग छलफल गर्न मन्त्रिपरिषद् बैठकले केहिदिन अघि तीन सदस्य उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गरेको थियो । समितिमा सञ्चारमन्त्री खरेल, कानून मन्त्री सिन्हा र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् ।