कोसी प्रदेश एमालेले सरकारको कदम असंवैधानिक भन्दै आन्दोलनको घोषणा
Prime TV News ३ हप्ता अगाडि 
विराटनगर । नेकपा एमाले कोसी प्रदेश कमिटीले वर्तमान सरकारका कदमलाई असंवैधानिक र प्रतिगमनकारी भन्दै सशक्त आन्दोलनमा जाने घोषणा गरेको छ।
प्रदेश अध्यक्ष घनश्याम खतिवडाले मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा भने, “असंवैधानिक सरकारले गरेका निर्णय र कार्य हामीलाई मान्य छैनन्।” उनले सरकारले राजनीतिक प्रतिशोधका उद्देश्य राखेको आरोप समेत लगाएका छन्।
विज्ञप्ति अनुसार, पार्टीले कोसीका सबै १४ जिल्लामा चरणबद्ध प्रदर्शन गर्ने तयारी गरिरहेको छ। यसैबीच, हालै सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओलीको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी चयन भएको छ। विज्ञप्तिमा ओलीलाई कथित छानबिन आयोगको नाममा अनावश्यक दुःख दिने प्रयास भइरहेको आरोप लगाइएको छ।
एमालेले प्रतिनिधिसभा पुनर्स्थापना, सर्वपक्षीय सरकार गठन, संविधान संशोधन र ताजा जनादेशको माग दोहोर्याएको छ। पार्टीले सबै जिल्ला कमिटीलाई शान्तिपूर्ण खबरदारी प्रदर्शन, र्याली र विरोध कार्यक्रम सञ्चालन गर्न आह्वान गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “असंवैधानिक सरकारबाट गरिने कुनै पनि प्रतिगमनकारी कदम र षड्यन्त्रविरुद्ध नेकपा (एमाले) कोसी प्रदेश कमिटी आजैदेखि प्रतिकारमा उत्रनेछ।” साथै, पार्टीले लोकतन्त्रप्रेमी राजनीतिक दल, बौद्धिक समुदाय, मानव अधिकारकर्मी, नागरिक समाज, उद्योगी व्यवसायी तथा युवा विद्यार्थीलाई आन्दोलनमा सहभागी हुन अपिल गरेको छ।














