महिला टी-२० विश्वकप छनोटमा नेपालको सम्भावना प्रबल छः प्रशिक्षक हर्षल पाठक

User Image Prime TV News ३ हप्ता अगाडि
Image of महिला टी-२० विश्वकप छनोटमा नेपालको सम्भावना प्रबल  छः प्रशिक्षक हर्षल पाठक

काठमाडौ । नेपाली महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले आगामी आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपालको छनोटको सम्भावना प्रबल रहेको बताएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) द्वारा मंगलबार आयोजना गरिएको प्रशिक्षकसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै पाठकले नेपाल महिला क्रिकेट टिमको प्रदर्शनका बारेमा आशावाद व्यक्त गरेका थिए ।

पाठकले भने, "मैले यसअघि पनि विपक्षीको रूपमा नेपाली टिमलाई राम्रोसँग हेरें, र यो टिममा उच्च प्रदर्शन गर्ने क्षमता छ। यहाँको क्रिकेट वातावरण पनि उत्कृष्ट छ र म विश्वकपमा छनोट हुने सम्भावना राम्रो देख्दैछु। हामी कस्तो योजना बनाउँछौं र त्यसलाई कस्तो ढंगले कार्यान्वयन गर्छौं भन्ने कुरा महत्त्वपूर्ण छ। यदि हामी यसमा सफल भयौं भने, परिणाम सकारात्मक हुनेछ।"

उनले नेपालको कन्डिशनलाई पनि सकारात्मक मूल्याङ्कन गरेका छन्। "नेपालका मैदान र मौसम क्रिकेट खेल्नका लागि उपयुक्त छन्। जसले यहाँको कन्डिशनलाई सही तरिकाले उपयोग गर्न सक्छ, उसले खेलमा जित निकाल्न सक्नेछ," पाठकले थपे।

नेपाली महिला क्रिकेट टिमको आगामी चुनौती, आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटलाई लक्ष्य बनाउँदै क्यानले पहिलोपटक विदेशी मुख्य प्रशिक्षक नियुक्त गरेको हो। पाठकको दुई वर्षको सम्झौतासँगै अब नेपाली महिला क्रिकेटको भविष्यलाई नयाँ दिशा दिने अवसर आएको छ।

नेपाल क्रिकेट संघका जनरल म्यानेजर विनोद दासले जानकारी दिँदै भने, "हर्षल पाठकको अनुभव र क्यानको योजना नेपालको महिला क्रिकेटको लागि निकै महत्त्वपूर्ण साबित हुनेछ। हामी उनलाई शुभकामना दिन्छौं र विश्वास छ कि उनले हाम्रो टिमलाई नयाँ उचाइमा पुर्याउनेछन्।"

नेपाल महिला क्रिकेट टिमका खेलाडीहरू हर्षल पाठकको नेतृत्वमा कडा अभ्यास र तयारीमा जुटेका छन्। आगामी महीनामा हुने ग्लोबल छनोट प्रतियोगिता विश्व क्रिकेट मञ्चमा नेपाललाई उचाइमा पुर्याउन महत्वपूर्ण अवसर हुनेछ।