राजनीति दल र नेताहरुलाई निषेध गरेर निर्वाचनको वातावरण बन्न सक्दैनः एमाले
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेले राजनीति दल र नेताहरुलाई निषेध गरेर निर्वाचनको वातावरण बन्न नसक्ने स्पष्ट पारेको छ ।
मंगलबार पार्टी कार्यालय च्यासलमा सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक सम्वाद समितिसंगको छलफलका क्रममा एमालेले नेताहरुलाई स्थानहद तोक्ने र राजनीतिक गतिविधिमा अवरोध गर्ने कार्यले निर्वाचनको वातावरण बन्न नसक्ने स्पष्ट पारेको हो ।
छलफलपछि एमाले उपामहासचिव रघुविर महासेठले आफुहरु निर्वाचनको विरोधी नभएको तर सरकारले नै निर्वाचनको उचित वातावरण बनाउन नसकेको बताए । एमालेलाई निर्वाचनमा सहभागी गराउन नचाहेकै कारण सरकारले एमाले अध्यक्षलाई स्थानहद तोकिएको उनले बताए ।
पार्टी अध्यक्षलाई स्थानहद तोकिएको अवस्थामा एमाले निर्वाचन जान नसक्ने स्पष्ट पार्दै महासेठले चूनावी वातावरण बनाउने काम एमालेको नभइ सरकारको भएकाले स्थानहद तोक्ने निर्णय हटाउन सुझाव दिए ।
त्यस्तै उच्चस्तरीय राजनीतिक सम्वाद समितिका सदस्य सञ्चारमन्त्री जगदीश खरेलले निर्वाचनको तयारीका बारेमा छलफल भएको र देश चुनावमय बनिसकेको प्रतिक्रिया दिएका छन् । एमालेका नेताहरुले चूनावी वातावरण बनाए निर्वाचनमा भाग लिने जानकारी गराएको उनले जानकारी दिए । खरेलले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण वनाउने सरकारले प्रतिवद्धता लिएको उल्लेख गरे ।












