जाँचबुझ आयोगले तीन प्रमुख अधिकारीको स्थानहद फुकुवा गर्यो

User Image Prime TV News ३ हप्ता अगाडि
Image of जाँचबुझ आयोगले तीन प्रमुख अधिकारीको स्थानहद फुकुवा गर्यो

काठमाडौ । जेनजी आन्दोलनको छानबिन प्रक्रिया अघि बढाउँदै जाँचबुझ आयोगले तीन उच्च सरकारी अधिकारीहरूको स्थानहद फुकुवा गरेको छ। मंगलबार एक पत्रमार्फत आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, पूव आईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको स्थानहद फुकुवा गरेको जनाएको छ।

आयोगका उपसचिव कमलप्रसाद पाण्डेले पठाएको उक्त पत्रमा भनिएको छ कि यी अधिकारीहरूको बयान पूरा भएपछि उनीहरूको स्थानहद फुकुवा गरिएको हो । अब उनीहरूलाई विदेश भ्रमण गर्ने अनुमति पनि दिइएको छ।

यसअघि, गुप्तचर विभागका तत्कालीन प्रमुख हुतराज थापाको बयान पनि पूरा भएपछि उनको स्थानहद पनि फुकुवा गरिएको थियो। यी सबै अधिकारीहरूलाई जेनजी आन्दोलनको दौरानको घटनाबारे छानबिन गर्नका लागि स्थानहद तोकिएको थियो।

जेनजी आन्दोलनका क्रममा गत २३ र २४ भदौमा भएको हिंसात्मक घटनाले देशभर व्यापक विरोध र अशान्ति सिर्जना गरेको थियो । त्यसको छानबिनका लागि सरकारद्वारा आयोग गठन गरिएको थियो। आयोगले ती अधिकारीहरूको बयान लिने प्रक्रिया पूरा गरेपछि उनीहरूको स्थानहद फुकुवा गरेको हो।