देशको भूराजनीतिक अवस्था गम्भीर : एमाले महासचिव पोखरेल
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालबाट चीन र अमेरिकाका राजदूत एकै समयमा फिर्ता बोलाइनु देशको भूराजनीतिक अवस्थाका लागि गम्भीर संकेत भएको बताएका छन्।
विश्वका दुई प्रमुख शक्ति राष्ट्रका कूटनीतिक प्रतिनिधि एकसाथ फर्किनु सामान्य घटना नभएको बताए । महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै नेपाल अहिले संवेदनशील भूराजनीतिक घेराभित्र रहेको स्पष्ट संकेत यस घटनाले दिएको बताएका हुन्।
उनका अनुसार शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धा तीव्र बन्दै गएको अवस्थामा नेपालजस्तो सानो र रणनीतिक महत्व बोकेको देश थप सतर्क हुनुपर्ने समय आएको छ।
नेपालका लागि चिनियाँ राजदूत छन् सङ र अमेरिकी राजदूत डीआर थम्पसनलाई आ–आफ्ना सरकारले स्वदेश फिर्ता बोलाएको विषय सार्वजनिक भएसँगै कूटनीतिक वृत्तमा विभिन्न अड्कलबाजी सुरु भएको छ। यद्यपि, दुवै देशले राजदूत फिर्तीको कारणबारे स्पष्ट विवरण दिएका छैनन्।
पोखरेलले यस्ता घटनालाई बेवास्ता गर्नु वा सामान्य प्रशासनिक प्रक्रिया भनेर पन्छिनु राष्ट्रहितका दृष्टिले गलत हुने संकेत गरेका छन्।












