रुसको भीषण हवाई आक्रमणपछि जेलेन्स्कीको कडा चेतावनी: मस्कोमाथि अन्तर्राष्ट्रिय दबाब बढाउन आग्रह
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । रुसले युक्रेनमाथि अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमण गरेपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अन्तर्राष्ट्रिय समुदायलाई मस्कोमाथि थप कडा दबाब दिन अपिल गरेका छन्। उनले रुसलाई कूटनीतिक प्रयासहरू कमजोर पार्ने छुट दिन नसकिने भन्दै युद्ध अन्त्य गर्ने सम्पूर्ण जिम्मेवारी मस्कोकै काँधमा रहेको बताएका छन्।
सोमबार राति रुसले युक्रेनका १३ क्षेत्रमा एकैसाथ ठूलो मात्रामा हवाई आक्रमण गरेको थियो। उक्त आक्रमणमा ६५० भन्दा बढी ड्रोन र ३० भन्दा बढी मिसाइल प्रयोग गरिएको युक्रेनी अधिकारीहरूले बताएका छन्। आक्रमणको मुख्य निशाना ऊर्जा पूर्वाधार, विद्युत् ग्रीड तथा नागरिक आधारभूत संरचनाहरू रहेका थिए।
आक्रमणका कारण देशका विभिन्न भागमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ भने कम्तीमा तीन जनाको ज्यान गएको छ। मृत्यु हुनेमध्ये चार वर्षका एक बालक पनि रहेको पुष्टि गरिएको छ। जेलेन्स्कीले घर, अस्पताल र विद्युत् संरचनामाथि भएको आक्रमणले रुसको वास्तविक उद्देश्य उजागर भएको बताएका छन्।
राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शान्ति प्रयासप्रति गम्भीर नभएको आरोप लगाएका छन्। उनका अनुसार बमबारीले युक्रेनमाथि आक्रमण जारी राख्ने रुसी नीति स्पष्ट देखिन्छ। युरोपेली तथा युक्रेनी अधिकारीहरूले पनि अमेरिका नेतृत्वको शान्ति पहलमा रुसले सहयोग नगरेको गुनासो गरेका छन्।













