श्रम स्वीकृति वडा तहबाटै दिने तयारी, काठमाडौँ धाउनुपर्ने बाध्यता हट्ने

User Image Prime TV News ३ हप्ता अगाडि
Image of श्रम स्वीकृति वडा तहबाटै दिने तयारी, काठमाडौँ धाउनुपर्ने बाध्यता हट्ने

काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले श्रम स्वीकृतिका लागि श्रमिकहरू काठमाडौँ आउनुपर्ने अवस्थाको अन्त्य गर्ने घोषणा गरेका छन्। वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सहज सेवा दिन श्रम स्वीकृतिसहित सम्बन्धित सबै प्रक्रिया स्थानीय वडा तहसम्म विस्तार गर्ने तयारी भइरहेको उनले बताएका हुन्।

बुधबार सामाजिक सुरक्षा कोषको एक कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले हालको श्रम स्वीकृति प्रक्रिया अनावश्यक रूपमा झन्झटिलो बनेको उल्लेख गरे। श्रमिकले सानो सेवाका लागि पनि लामो दूरी यात्रा गर्नुपर्ने बाध्यता हटाउन सरकार गम्भीर रूपमा लागिरहेको उनले बताए।

‘श्रम स्वीकृति, व्यक्तिगत विवरण र वैदेशिक रोजगारीसँग सम्बन्धित प्रक्रिया वडा र पालिकामै किन नदिने ? अनावश्यक झन्झट र ट्रयापिङ किन सिर्जना गर्ने ?’ भन्दै मन्त्री भण्डारीले यी सबै सेवाहरू स्थानीय तहबाटै उपलब्ध गराएर श्रमिकलाई सहज बनाइनुपर्नेमा जोड दिए।

उनका अनुसार, वैदेशिक रोजगारीमा जाने बेला राज्यले नै श्रमिकको सुरक्षाको सुनिश्चितता गर्नुपर्छ। ‘कल्याणकारी राज्यले त नागरिक विदेश जाँदै गर्दा “तिम्रो पासपोर्ट, तिम्रो श्रम स्वीकृति र सामाजिक सुरक्षाको ग्यारेन्टी भयो, अब ढुक्कसँग जाऊ” भन्न सक्नुपर्छ,’ मन्त्री भण्डारीले भने।

मन्त्री भण्डारीले श्रम स्वीकृतिलाई झन्झटिलो प्रशासनिक प्रक्रिया नभई श्रमिकको अधिकार र सुरक्षाको महत्वपूर्ण दस्तावेजका रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरे। हालको जटिल प्रक्रियाकै कारण धेरै श्रमिक अवैध बाटोबाट वैदेशिक रोजगारीमा जान बाध्य भएको उनको ठम्याइ छ।

श्रम मन्त्रालयभित्र रहेका नीतिगत तथा प्रक्रियागत अड्चनहरू हटाउन आफू लागिपरेको उल्लेख गर्दै उनले आगामी दिनमा श्रमिकमैत्री प्रणाली लागू गरिने विश्वास दिलाए।