प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी पूरक निवेदनमा आज संवैधानिक इजलासमा सुनुवाइ

User Image Prime TV News ३ हप्ता अगाडि
Image of प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी पूरक निवेदनमा आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौ । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको पूरक निवेदनमाथि आज सुनुवाइ हुने भएको छ। नेपाली कांग्रेसका ६५ जना निवर्तमान सांसदसहित विभिन्न दलका १४३ निवर्तमान सांसदको समर्थन रहेको निवेदन संवैधानिक इजलासमा पेश हुन लागेको हो।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीशहरू हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी सम्मिलित संवैधानिक इजलासमा उक्त निवेदनको सुनुवाइ हुनेछ।

कांग्रेसका कूल ८७ जना निवर्तमान सांसदमध्ये ६५ जनाले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका हुन्। ती हस्ताक्षर पूर्वमहान्यायाधीवक्ता खम्मबहादुर खातीमार्फत मंगलबार सर्वोच्च अदालतमा दर्ता गरिएको थियो।

यसअघि कांग्रेसको विघटित प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङसहित आठ जनाले मंसिर २३ गते संसद् विघटनविरुद्ध रिट दायर गरेका थिए। सो रिटमा सर्वोच्च अदालतले सरकारसँग कारण देखाउ आदेश जारी गरिसकेको छ।

पुनर्स्थापनाको मागमा कांग्रेसका सांसदहरूसँगै स्वतन्त्र निवर्तमान सांसद योगेन्द्र मण्डल, जनता समाजवादी पार्टी र जनमत पार्टीका एक–एक जना निवर्तमान सांसदको पनि समर्थन रहेको छ। यसैबीच नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले पनि प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै छुट्टाछुट्टै रिट दर्ता गराएका छन्। एमालेका अन्य निवर्तमान सांसदहरूले समेत पूरक निवेदनमा हस्ताक्षर बुझाएका छन्।