नेकपा समानुपातिक उम्मेदवारको सूची तयार गर्न तल्लो तहबाट नाम संकलन गर्दै
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । प्रतिनिधि सभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टीले समानुपातिकतर्फ उम्मेदवारको बन्द सूची तयार गर्न काम सुरु गरेको छ।
पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार, सूची पुस १३ र १४ भित्र निर्वाचन आयोगमा बुझाउनुपर्ने छ। उनका अनुसार, पार्टीले जिल्ला कमिटीलाई शुक्रबारभित्र उम्मेदवारको नाम पठाउन निर्देशन दिएको छ।
सापकोटाले भने, “तल्लो तहबाट नाम आएपछि केन्द्रमा छलफल गरी अन्तिम निर्णय गर्नेछौँ।” उम्मेदवार छनोटको मापदण्डमा मुख्य प्राथमिकता युवालाई दिने, पार्टीमा लामो समयदेखि योगदान गरेका तर अवसर नपाएका व्यक्तिलाई अघि राख्ने, साथै विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने कुरा उल्लेख गरिएको छ।
उनले थपे कि, विगतमा अवसर पाएका उम्मेदवारलाई दोहोर्याइने छैन। पार्टी एकतापछि एउटै भएर काम गरिरहेको र उम्मेदवारको नाम पठाउँदा तल्लो तह र केन्द्रबीच समन्वय हुने पनि उनले बताए। सापकोटाका अनुसार, पार्टीले छुट्टै प्रतिशत बाँडफाँड तोकेको छैन, र सबै नाम समन्वयका आधारमा पठाइनेछ।













